उद्धार उडानमा परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुलाई स्वदेश ल्याउने उद्धार उडानमा सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेपाल एयरलाइन्सको हवाईजहाज उद्धार उडानका लागि आज राति इजरायलको तेल अविव प्रस्थान गर्दैछ । सोही जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल जान लागेका हुन् ।

यसअघि परराष्ट्रमन्त्री साउदले इजरायलका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गरी नेपालीहरुको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

उद्धार उडानमा ढिलाइ भइरहेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले आज नेपाल एयरलाइन्सका पदाधिकारीहरुसहितको टोलीलाई बालुवाटारमा बोलाएर तत्काल उद्धार उडान गर्न निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहोस् – यी पाइलटले ल्याउँदैछन् इजरायलबाट नेपाली

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुलाई बोलाई उद्धार उडानमा भइरहेको ढिलाइबारे जानकारी लिनुका साथै आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम नेपाल एयरलाइन्सको एयरबस ३३० जहाज दुबई ट्रान्जिट हुँदै इजरायल प्रस्थान गर्न लागेको हो ।

स्रोतका अनुसार आज राति दुई बजे नेपाल एयरलाइन्सका अप्रेसन डाइरेक्टर एवम् सिनियर क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रुु मेम्बर इजरायल जानेछ । त्यहाँ मारिएका १० विद्यार्थीको शवसहित अन्य नेपालीहरुलाई लिएर सो विमान बिहीबार राति १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

२८८ जना नेपालीहरू स्वदेश फर्किन इच्छुक

गत शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको इजरायलमा मृत्यु भएको थियो । सो आक्रमणपछि एक जना सम्पर्कविहीन र चार जना घाइते भएका छन् । अरु नेपालीहरु सुरक्षित भए पनि इजरायलमा युद्धको अवस्था भएकाले सरकारले उनीहरुलाई स्वदेश फर्काउन लागेको हो ।

अनलाइन रजिष्ट्रेसन गराएकाहरूमध्ये २८८ जना नेपाल आउन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० जनाभन्दा बढीको विवरण प्राप्त भएको छ तर २८८ जना नेपाल फर्किन इच्छुक छन् । उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ ।