इजरायल घटनाको नाममा सरकार ढाल्ने प्रयास भयो : अनन्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुन अनन्तले इजरायल युद्धको नाममा सरकारमाथि आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताएका छन् ।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास भएको बताए । तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल बनाएको उनको भनाइ छ ।
‘इजरायल युद्धको बहानामा सरकारमाथि घेराबन्दी गरेर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको थियो’, पुनले भने, ‘सरकारको जिम्मेवारीपूर्ण पहलका कारण ती सबै प्रयास असफल भएका छन् ।’
१० नेपालीको विदेशी भूमिमा हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाको रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको टिप्पणी पुनले गरे ।
सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्रमा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको र देशमा सरकार भएको अनुभूति दिलाएको पुनले उल्लेख गरे । उनले बुधबार मात्र सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको जानकारी पनि दिए ।
देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सदभाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको पनि पुनले उल्लेख गरे । सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सदभाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्वको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको दाबी गरे ।
गणतन्त्र, संघीयता र धार्मिक सदभावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको भन्दै पुनले प्रतिगामीहरुको घृणा फैलाएर समाज भाँड्ने कोसिस राष्ट्रिय एकताको माध्यमद्वारा आफूहरुले कुनै हालतमा सफल हुन नदिने स्पष्ट पारे ।