रोकियो राष्ट्रसंघका महासचिवको नेपाल आउने तयारी, यस्तो छ कारण

मूलखबर संवाददाता
काठमाडौं

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको तीन दिने भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो। महासचिव गुटेरस नेपाल आउने र एक रात पोखरामा बिताउने कार्यक्रम समेत तय भएको थियो। नेपाल आएर यतैबाट चीन जाने उनको तयारी थयो। महासचिव गुटेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै राष्ट्रसंघ महासभामा सहभागी हुँदा भ्रमणको निम्ता दिएका थिए।

तर इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्नुपरेका कारण भ्रमण तत्कालका लागि रद्द गरिएको हो।

आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मूलखबरलाई जानकारी दिइन्। गत शनिबारबाट प्यालेस्टाइनको लडाकु समूह हमास र इजरायलबीच चर्किएको युद्धका कारण अहिले उनको नेपाल भ्रमण स्थगित भएको उनले बताइन्।

‘अहिले तत्कालका लागि उहाँ(एन्टोनियो गुटेरस) को भ्रमण स्थगित भएको हो,’ उनले मूलखबरसँग भनिन्, ‘केही समयपछि उहाँको भ्रमण हुन्छ। अहिले जारी युद्धका कारण उहाँको भ्रमण स्थगित भएको हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्। यसअघि प्रधानमन्त्री हुँदा पनि प्रचण्डले बान कि मुनलाई नेपालमा स्वागत गरेका थिए।