इजरायलबाट नेपाली फर्काउन सरकारद्वारा सबै द्वारको प्रयोग
इजरायलमा हमास समूहको आक्रमणपछि सरकारले स्वदेश फर्किन चाहनेलाई ल्याउने तयारी जारी राखेको छ। यसैक्रममा परराष्ट्रमन्त्री एनपी साउद र इजरायलका समकक्षीबीच टेलिफोन संवाद भएको छ । मंगलबार दुई देशका समकक्षीबीच टेलिफोन संवाद भएको हो।
टेलिफोन संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
संवादमा मन्त्री साउदले कठिन समयमा नेपाल इजरायलको साथमा रहेको बताए भने इजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता जनाए ।
साढे ३ सय आउन इच्छुक
इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् । तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेकाे अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ ।
नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।
आक्रामणमा परी निधन भएका १० नेपालीको शव ल्याउने र असुरक्षित रहेकालाई उद्धार गर्दै स्वदेश फर्काउने विषयलाई प्राथमिकता राखेर काम गरिरहेको सरकारले जनाएको हो ।
‘यो दु:खद् घटनापछि नेपालीको शव ल्याउन र फर्किन चाहनेलाई ल्याउन सरकार यता तयार भएर बसेका छौं । सरकारले नेपाल एयरलाइन्स र हिमालयन एयरलायन्सको विमानलाई तयारी अवस्थामा राखेको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘तर इजरायलको प्रभावित क्षेत्रमा एयर स्ट्राइक जारी भएकाले चार्टर प्लेनको उडानमा समस्या भएको जानकारी पाएका छौं । उडान अनुमति पाएलगत्तै मृतकको शव र फर्किन चाहने नेपालीलाई ल्याउने पहल भइरहेको छ ।’
असुरक्षित रहेका नेपालीलाई सुरक्षित ठाउँमा सार्ने, घाइतेको उपचार गर्ने विषयमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत अपडेट लिइरहेको जानकारी उनले दिए । ‘अप्ठ्यारोमा रहेका नेपालीलाई एकीकृत गरेर सुरक्षित ठाउँमा राख्नेबारे प्रधानमन्त्रीले परराष्ट्रमन्त्री र इजरायलस्थित राजदूतमार्फत अपडेट लिइरहनुभएको छ,’ शर्माले भने, ‘शव र नेपालीलाई ल्याउन कति दिन लाग्छ भन्ने इजरायलको परिस्थितिमा भर पर्ने देखिएको छ ।’
निधन भएका १० नेपालीको शव संकलन कसरी भइरहेको छ भन्नेबारेमा कुनै जानकारी नभएको उनले बताए । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्दै छिट्टै नेपालीको शव ल्याउने र फर्किन चाहनेलाई नेपाल पठाउने प्रबन्ध मिलाइदिन आग्रह गरेका छन् ।
‘महामहिमज्यू, १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। दुःखद् घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ।’
परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।
‘अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन् पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्नेछ।’
मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । आक्रमणपछि सम्पर्कवीहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट उनले अनुरोध गरेका छन् ।
‘इजरायलका अस्पतालमा ४ नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्योपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले समकक्षीसँग भने, ‘एक जना नेपाली अझै सम्पर्कवीहीन हुनुहुन्छ । उहाँको अवस्था पत्ता लगाउन सम्पूर्ण सहयोग गरिदिन पनि अनुरोध गर्दछु ।’
सम्पर्कविहीन भएका र अन्य नेपालीको विवरण संकलन गरिदिन, घाइते भएका चारजनाको उपचारमा सहयोग र हेरचाह गरिदिन, स्थानान्तरण गरिएकाका लागि खानपान र आधारभूत आवश्यकताको विषयमा हेरचाह गरिदिन पनि समकक्षीसँग उनले आग्रह गरेका छन् ।
साउदको आग्रहमा मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
५५ जना सुरक्षित स्थानमा, १ जनाको चिन्ता
इजरायलमा केयरगिभरमा ४ हजार ५ सय नेपाली कार्यरत रहेको सरकारले जनाएको छ । तर, इजरायलमा अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका हुन् ।
यी मध्ये नेपालको कृषि तथा वन विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १० जना हमासको आक्रमणमा मारिएका हुन् । त्यस क्षेत्रमा १७ जना थिए । मृतकबाहेक बाँकी ७ मध्ये २ जना सकुशल रहेको, ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अझै सम्पर्क नभएको जानकारी परराष्ट्रमन्त्रीले संसदीय समितिलाई गराएका छन् ।
अन्य क्षेत्रमा रहेका विद्यार्थी त्यस किसिमको जोखिममा नरहेको साउदको दाबी छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई इजरायल घटनाको जानकारी गराउँदै परराष्ट्रमन्त्री एनपी साउदले ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको र इच्छुकलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी गराएका थिए ।
‘५५ जनालाई हिजो इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ समितिलाई जानकारी गराउँदै साउदले भनेका थिए, ‘साथै उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तबरले बंकरमा रहने व्यवस्था मिलाइएको छ । अन्य जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल गरिएको छ ।’
हमासको आक्रमणपछि इजरायलको दक्षिण क्षेत्रका जोखिमयुक्त बंकरभित्र आश्रय लिएकालाई सुरक्षित स्थानमा सारिएको जानकारी उनले दिए । सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ ।
इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तबरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय भइरहेको पनि साउदले बताएका थिए ।
स्वदेश फर्किन चाहनेका लागि अनलाइन रजिष्ट्रेसन शुरू गरिएको र दुई सयभन्दा बढीले नाम टिपाएको जानकारी पनि साउदले दिएका छन् । इजरायल सरकारले प्रक्रिया पूरा गरेपछि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्समार्फत नेपालीलाई स्वदेश फर्काउने घोषणा सरकारले गरिसकेकको छ । साउदले जहाज चार्टर गरेर ल्याउँदा जुन–जुन रुट भएर जाने हो त्यो देशको क्लियरेन्स चाहिने भएकाले निर्देशन दिइसकेको समेत बताएका थिए ।
नेपाल फर्किन चाहनेलाई इजरायल नजिकका देशमा लाने र चार्टर जहाजमार्फत नेपाल ल्याउने विकल्पमा समेत छलफल भइरहेको जानकारी समितिलाई गराएका थिए ।