इजरायलबाट नेपालीको उद्धार गर्न सरकार सक्रिय, बंकरमा बसेका विद्यार्थीसँग प्रचण्डको कुराकानी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा समस्यामा परेका नेपालीहरुलाई उद्धारको पहललाई तीव्रता दिएका छन् ।

उनले आजै बंकरमा लुकेर बसेका विद्यार्थीहरुसँग भर्चुल माध्यमबाट कुराकानीसमेत गरेका छन् । उनले जतिसक्यो छिटो उद्धार गर्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषयमा अध्ययनसँगै काम गर्न भनेर इजरायल गएका विपिन सुवेदीसँग कुराकानी गरेका हुन् ।

सुवेदीले आफूसहित पाँच जना नेपाली विद्यार्थीहरु बंकरमा लुकेर बसेको जानकारीसहितको भिडियो फेसबुकमा पोष्ट गरेका थिए । उनले तीन दिनदेखि आफूहरु बंकरमा रहेको भन्दै छिटो उद्धारको पहल गरिदिन सरकारलाई आग्रह गरेका थिए ।

तिनै विपिनसँग प्रधानमन्त्री प्रचण्डले अनलाइन कुराकानी गरेर उद्धारको पहल भइरहेकाले नआत्तिन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विपिन सुवेदीसँग गरेको कुराकानीको भिडियो प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । (हेर्नुहोस् भिडियो)

परराष्ट्र मन्त्रालयका अनुसार समस्यामा परेका नेपालीहरुको सुरक्षित उद्धारका लागि प्रधानमन्त्री प्रचण्डले सुरुदेखि नै सक्रियता देखाएका छन् । त्यहाँ मृत्यु भएका १० जना नेपालीहरुको शव नेपाल ल्याउने तयारी पनि भइरहेको छ । नेपालीहरुलाई उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिएको छ ।

प्यालेस्टाइन लडाकु समूह हमासले गत शनिबार इजरायलमा एक्कासी आक्रमण गर्दा सयौं जनाको मृत्यु र घाइते भएको विवरण आइरहेका छन् । एक कृषि फर्ममासमेत आक्रमण हुँदा १० जना नेपालीहरुको मृत्यु भएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले युद्धग्रत क्षेत्रबाट गरिने उद्धार जटिल काम भएकाले सुरक्षित रुपमा जतिसक्दो छिटो उद्धारका लागि प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र इजरायलको तेल अभिभस्थित नेपाली दूतावासका कर्मचारीहरु रातदिन खटिरहेका छन् ।

परराष्ट्र मन्त्री एनपी साउदले पनि त्यहाँ रहेका नेपालीहरूसँग कुराकानी गरेका छन् । नेपालीहरुको उद्धार तथा राहतको विषयमा निर्णय गर्न आजै मन्त्रिपरिषदको विशेष बैठक र लगत्तै सर्वदलीय बैठकसमेत बस्दै छ ।

‘युद्धग्रस्त क्षेत्रमा नेपालीहरुलाई परेको पीडामा सरकार दुःखी छ, प्रधानमन्त्री चिन्तित हुनुहुन्छ,’ प्रेस सल्लाहकार आचार्यले भने, ‘छिटो उद्धार गर्ने भन्दैमा हतारमा काम गर्दा अहिलेसम्म सुरक्षित भएकाहरुको पनि ज्यान जोखिममा पर्नसक्ने भएकाले भएकाले निकै सोचविचारका साथ कदम चाल्नुपर्ने हुन्छ ।’

उनले सरकारले सबै परिस्थितिको विश्लेषण गरी नेपालीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्न अपनाउनुपर्ने सबै उपाय लगाइरहेकाले धैर्य गर्न आग्रहसमेत गरे ।

यस्तो छ प्रधानमन्त्री प्रचण्ड र बिपिनबीचको कुराकानी

प्रधानमन्त्री : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गर्नु भएको हो ?

विपिन सुवेदी : हो हो ।

प्रधानमन्त्री : यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय सचिव)सँग तपाईँको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।

विपिन :हजुर ।

प्रधानमन्त्री : अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्तिदेखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।

यो सबै कुरा तपाईले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्‍यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।

विपिन :सबै जनालाई भन्दिइसकें ।

प्रधानमन्त्री : अँ अँ ।

विपिन :अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडि भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडि हुनुहुन्छ ।

प्रधानमन्त्री : थ्याङ्कु विपीन जी । रमेश जीसँग कम्युनिकेसनमा बस्नुस् ल ।

विपिन : हामीलाई छिटो भन्दा छिटो नेपाल फकाईदिनुस् ।

प्रधानमन्त्री : ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं ।

यो पनि पढ्नुहोस् 

इजरायलमा नेपालीको मृत्यु भएको शोकमा मंगलबार बिदा, मृतकका परिवारलाई १० लाख