वर्षमानले गरेको संकेतः माओवादी-एमाले मिलन कोशीबाट सुरु होला त
काठमाडौंमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताए।
पुनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन्। फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई उनले आग्रह समेत गरे।
‘हिजो हामीले नेकपा बनायौं। यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरुलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौं।’
पुनले कांग्रेसले ०१५, ०४८ र ०६५ सालमा बहुमत ल्याएको र कम्युनिष्टहरू ०६४ र ०७० को संविधानसभा र ०७४ को आमनिर्वाचनमा बहुमतमा रहेकामा अहिले किन जनमत घटिरहेको छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए।
‘०६४ र ०७० को संविधनसभामा कम्युनिष्टहरु बहुमतमा थियौं। ०७४ मा नेकपाको झण्डै दुई तिहाई उपस्थिति थियो। १६ वर्षपछि अहिले पहिलोपटक संसदमा कम्युनिष्टहरूसँग बहुमत छैन। एमाले, माओवादी, समाजवादी, नेककिपा र राजमो मिलाउँदा पनि कम्युनिष्टहरूको बुहमत पुग्दैन’, पुनले भने, ‘यो गम्भीर पाटोको समीक्षा गर्नुपपर्ने बेलामा अर्को कम्युनिष्ट शक्ति र उसको नेतृत्वमा भएको सफल आन्दोलनको अपमान नगर्न म ओलीजीलाई आग्रह गर्छु।’
के कोशीमा माओवादी-एमाले मिल्लान त
एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले विश्वासको मत लिन नपाएर राजीनामा दिएसँगै कोशी प्रदेशमा अब अन्तिम सरकारको विकल्पमात्रै छ ।
संविधानको धारा १६८ (५) अन्तर्गत अब सरकार बन्नेछ । ५ अनुसार सरकार बन्नका लागि ४७ जनाको हस्ताक्षर लिएर जाने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्ने छन् । अब बन्ने सरकारले विश्वासको मत नपाएको खण्डमा प्रदेश मध्यावधिमा जान्छ ।
कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए पनि सिधै मध्यावधिमा जान नदिने यसअघि नै नेताहरूले बताएका थिए । केही दिनअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीमा सबै मिलेर जानुको विकल्प नरहेको बताएका थिए ।
कोशीलाई मध्यावधिमा जान नदिने विभिन्न उपाय छन् । माओवादीले कांग्रेस र एकीकृत समाजवादीलाई छाडेर एमालेसँग गए नयाँ सरकार गठन हुन्छ । एमालेले माओवादीसँग पनि छलफल गरिरहेको छ । शुक्रवार माओवादी नेताहरूसँग एमालेका नेताहरूले सत्ता सहकार्यको ‘प्याकेज’ नै अघि सारेको छ । स्थिर सरकार बनाउनका लागि दलहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशको यो राजनीतिक संकट नयाँ टर्निङ प्वाइन्ट बन्ने सम्भावना पनि उत्तिकै छ । जसरी, २०७७ मा कर्णाली प्रदेशसभामा तत्कालीन नेकपाभित्रको किचलोले नेकपा विभाजनसम्मको स्थिति निम्त्यायो, त्यसरी नै कोहीले राष्ट्रिय राजनीतिमै नयाँ टर्निङ प्वाइन्ट बन्नसक्ने विश्लेषण पनि हुन थालेको छ ।
सर्वदलीय सरकारको विकल्प छाडेर एमाले र माओवादी केन्द्र नजिकिने स्थिति बनेमा त्यसको असर केन्द्रीय सरकारसम्म पर्नेछ । जसका कारण संघीय सरकारदेखि प्रदेशसम्म सत्ता समीकरण फेरिने स्थिति आउनसक्छ ।
एमाले र माओवादीका दोस्रो तहका नेताहरू अहिले पनि सबै ठाउँमा वापमन्थी मिल्नुपर्ने भन्दै टुटेको सम्बाद जोड्न खोज्दैछन् । अहिले नै सबै कुरा नमिले पनि कोशी सरकार पुनः वामपन्थी एकठाउँमा ल्याउने र टीआरसीमा माओवादीले सहयोग माग्ने मियोको रुपमा प्रयोग हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।