विपक्षीकाे दबाबपछि संसद अधिवेशन बाेलाउने तयारीमा सरकार, प्रदेश अधिवेशन शुरू
संघीय संसदको हिउँदे अधिवेशनकाे अत्तोपत्तो नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले अधिवेशन बाेलाउन सरकारलाई दबाब दिइरहेका छन् ।
सरकारले संसद बैठक बोलाउन ढिलाइ गरेको विपक्षी दलले आरोप लगाइरहेका बेला प्रदेश अधिवेशन भने शुरू हुँदैछन् । केन्द्र सरकारले विपक्षीकाे विरोध र दबाबपछि माघको तेस्रो साताबाट बस्नेगरी अधिवेशन बोलाउने तयारी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा विपक्षी दलहरूले तत्काल संसदकाे बैठक नबाेलाए विशेष अधिवेसनकाे माग गर्ने चेतावनी दिएका थिए ।
तयसैगरी माओवादी केन्द्रसहितकाे समाजवादी माेर्चाले सरकार संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खाेजेकाे भन्दै माघ १६ गते सडक प्रदर्शन गर्ने घाेषणा गरेको थियाे ।
प्रदेशहरूमा धमाधम बैठक बोलाउन थालिएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेश अधिवेशन बोलाइएको छ भने बागमती र गण्डकीमा बोलाउने तयारी भएको छ । कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ८ गते सोमबारबाट सुरु हुँदैछ । कोशी प्रदेश सभाले हिउँदे अधिवेशनमार्फत १० वटा विधेयक पास गर्ने तयारी गरेको छ ।
मधेस प्रदेशको हिउँदे अधिवेशन पुस २३ गतेबाटै सुरु भैसकेको छ । मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेर अन्त्य भएको थियो ।
यता बागमती प्रदेश सभाको बैठक पनि बोलाउन तयारी छ । बागमती प्रदेश सरकारले माघ १५,१६ भित्र बस्नेगरी बैठक बोलाउने तयारी गरेको जनाएको छ ।