कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा, अब विकल्प के ?

मूलखबर संवाददाता
काठमाडौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पाउन सक्ने स्थिति नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

शनिबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर उनले प्रदेश सभा बैठक सुरू हुनु अघि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएको बताए ।  त्यसअघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीले राजीनामा दिने निर्णय गरेको थियो ।

त्यसपछि बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै कार्कीले राजीनामा दिएको घोषणा गरे । बैठकलाई सम्बोधन गर्दै कार्कीले आफूलाई मुख्यमन्त्रीको आशक्ति नभएको जिकिर गरे ।

कोशी प्रदेश सभामा कसैको बहुमत पुग्न सक्ने स्थिति नभएको भन्दै उनले मिलेर अघि बढ्न दलहरुलाई आह्वान गरे ।

मध्यावधी निर्वाचन जनताको माग नभएको भन्दै उनले मध्यावधी निर्वाचन रोक्न एमाले तयार रहेको र अरु दल पनि तयार हुनुपर्ने बताए ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम २२ भदौमा मुख्यमन्त्री बनेका कार्कीले उपधारा (४) अनुसार आजसम्म मत लिनैपर्ने थियो ।

तर अहिलेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत लगायत पार्टीको गठबन्धनका कारण मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने स्थिति थिएन ।

९३ सदस्यीय प्रदेशसभामा उपसभामुख सिर्जना दनुवारसहित एमालेका ४० जना सांसदको समर्थन कार्कीका लागि अपर्याप्त थियो ।

उपसभामुख दनुवारले सभाकाे अध्यक्षता गर्नुपर्ने भएकाले उनले मत दिन पाउँदिनन् । त्यसैले कार्कीलाई हाल एमालेका ३९ सांसदकाे मात्रै समर्थन थियो । जबकी बहुमत पुग्न ४७ सांसदको आवश्यकता पर्छ । ६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै थियो ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन प्रकिया अघि बढ्न सक्छ । उपधारा (५) अनुसार, कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने देखिएमा प्रदेश प्रमुखले उसैलाई मुख्यमन्त्री नियुक्त गर्न पाउँछ ।

गठबन्धनमा रहेको कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ जना सांसद छन् ।