
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वार्ता, टिआरसी प्रमुख एजेण्डा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा छलफल भएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले शान्ति प्रक्रियाको महत्त्वपूर्ण र अन्तिम काम टुङ्गो लगाउने संकेत दिएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरू सहमति नजिक पुगेका छन् । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमिति सदस्यहरूका अनुसार सहमति नजिक पुगेर तर शीर्ष नेताले टुंगो लगाउन बाँकी रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले गत २५ फागुनमा विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
