देउवाविरुद्ध दबाब बनाउँदै शेखर कोइराला पक्ष, ओलीको इसारामा चलखेलको कोशिस
सभापति शेरबहादुर देउवाले बेवास्ता गरे पनि शेखर कोइरालाले सरकारमाथि धावा बोल्न छोडेका छैनन् । आफ्नो प्रस्तावमा देउवा तयार नभएपछि शेखरले पटकपटक पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताउनुलाई रणनीतिक रूपमा हेर्नुपर्ने एक नेता बताउँछन् ।
‘१५ औं महाधिवेशनमा नेता बन्ने मात्रै होइन । अहिलेको नेतृत्वको विषयमा असझदारी बढाएर भए पनि नेता बन्ने कोशिशमा शेखर लाग्नुभएको देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘सरकार फेरिए आफ्नो प्रभाव देखाउने र नफेरिए सरकारका कमजोरीलाई देखाउँदै कांग्रेसमा आफ्नो माहोल बनाउने रणनीतिमासमेत उहाँ (शेखर) हिँडेको हो कि भन्ने देखिन्छ ।’
शेखरले पछिल्लो समय देउवातिरका सांसद तानेर संसदीय दलमा आफ्नो बहुमत पुर्याउन सकिन्छ कि भनेर प्रयाससमेत गर्ने कसरत गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई आफ्नो पक्षमा पार्न खोज्नुको रणनीति यसकै निरन्तरता भएको नेताहरू बताउँछन् ।
एक नेताका अनुसार एक वर्ष पनि नपुगी प्रचण्डलाई फाल्न खोज्दा एमालेसँग मिल्नुपर्ने हुन्छ । तर, सधैंको प्रतिस्पर्धी एमालेले कहाँ कतिबेला धोका दिन्छ त्यसको टुंगो नभएकोमा देउवा प्रष्ट रहेको ती नेता बताउँछन् । ‘प्रचण्डलाई तोड्ने भनेको ओलीलाई जोड्ने हो । तर, अनायास प्रचण्डलाई फाल्दा हामीभन्दा अगाडि उनी ओलीकहाँ पुगेर पहिलकैजस्तो गठबन्धन बनाए भने हामी फेरि पेन्डुलम बन्छौं,’ ती नेता भन्छन्, ‘शक्ति र सत्ताका सबै खेल बुझ्ने हाम्रो सभापतिले यी सबैको हिसाबकिताब गरेर हतार गरिरहनुभएको छैन ।’
ती नेताका अनुसार प्रचण्डपछि आलोपालोमा माधव नेपालको सट्टामा पहिले आफैं प्रधानमन्त्री बन्ने तयारीमा भने छन्, किनकि माधव नेपालले पनि प्रधानमन्त्री बन्ने विषयलाई धेरै प्राथमिकता नदिएको संकेत बुधबार जनकपुरमा पुगेर गरेका थिए । ‘अहिले जुन सरकार छ यही सरकारलाई अगाडि बढाउने हो । को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने पनि होइन । नेपाली कांग्रेस र नेता शेरबहादुर देउवाजी पनि यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ,’ नेपालले भनेका थिए ।
दोस्रो–तेस्रो तहका नेता र सांसदले सरकार परिवर्तन चाहे पनि देउवा निकटको उच्च नेतृत्व भने तत्काल सरकार बदल्न खोज्दा जोखिम हुने देखिरहेको छ । सरकारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका पूर्णबहादुर खड्का पनि यही सरकारलाई बलियो बनाएर जानुपर्ने पक्षमा देखिन्छन् । उनले केन्द्रीय समिति बैठकदेखि पार्टीका फोरममा सरकार ढाल्ने र बदल्ने खेलले १० पुसको जस्तै संकटमा धकेल्ने बताउँदै आएका छन् ।
ओलीको चलखेल
देउवाले सत्ता सहकार्यका लागि सम्वादै गर्न नचाहेपछि एमाले अध्यक्ष केपी ओली कोइराला समूहमार्फत कांग्रेसभित्र खेल्न खोजेको देखिन्छ । देउवाले विगत दुई वर्षदेखि आफूसँग संवाद गर्न नचाहँदा कांग्रेससँग सहकार्यको परिस्थिति सिर्जना नभएको ओली बताउँछन् ।
कोइरालाले पनि देउवालाई भेटेर एमालेसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । देउवाले ओलीबाट पुस १० मा धोका भएको भन्दै एमालेसँगको सहकार्य नकार्ने गरेको कोइरालाको भनाइ छ । देउवा तयार नभएपछि कोशी प्रदेशलाई ओली र कोइराला सहकार्यको प्रस्थान बिन्दु बनाउन खोजेको चर्चा छ । यद्यपि पार्टीले नचाहेका कारण संसदीय दलको निर्णयका आधारमा चल्ने भएकाले कोशीमा गर्न खोजिएको चलखेल सफल हुने देखिँदैन।