शेखर कोइरालाः गाली प्रचण्ड सरकारलाई तर भित्र भित्रै अर्कै दाउ
कांग्रेस नेता शेखर कोइरालाले आफू आफ्नै पार्टी सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व ढाल्ने खेलमा लागेको देखाउन चाहेका छन्। यद्यपि उनको दाउ सरकारभन्दा पनि पार्टीभित्रको शक्ति आर्जनमा देखिन्छ।
बुधबार पनि नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताए। कपिलवस्तुको तौलिहवामा आयोजित कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने ठोकुवा गरे।
‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,’ कोइरालाले भने।
भित्र भित्रै खाँणसँग साँठगाँठ
शेखर स्वयंले पनि ७ साउनमा बसेको केन्द्रीय समिति बैठकमा हाल जेलमा रहेका आफ्नो पार्टीका नेता बालकृष्ण खाँणप्रति लक्षित गर्दै ‘भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न हुँदैन,’ भनेका थिए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका युवा नेता पनि यही लाइनमा थिए । उनीहरू त पार्टी भ्रष्टाचारका विषयमा झन् बढी निर्मम हुनुपर्ने पक्षमा थिए ।
खाँणको नाम उल्लेख नगरी आक्रोश पोखेका उनै शेखरले ३५ दिनमा दुईपटक केन्द्रीय कारागारमै पुगेर भेटेका छन् । यी भेटहरूले गुट अदलबदलको संकेत देखाएको कांग्रेस स्रोत बताउँछ ।
सभापति देउवा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट र त्रसित रहेको मौका छोपेर कोइराला सरकार नै परिवर्तन गर्ने खेलमा लागेका हुन् । तर, देउवा भने अहिले नै सरकार परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा छैनन् ।
३१ साउनमा खाँणलाई भेट्न जेलमा पुगेका शेखर फेरि ६ असोजमा सुन्धारा जेल पुगेका थिए । पहिलो भेटमा खाँणले शेखरसँग आफू निर्दोष रहेको भन्दै उच्च अदालतबाट छुट्ने बताएका थिए । एक महिनालगत्तै फेरि शेखर खाँणलाई भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ । दुई नेताबीच भएको भेटका विषय बाहिर आएका छैनन् । तर शेखरले खाँणलाई छुटाउने आश्वासन दिएको स्रोतको दाबी छ ।
शेखरले बुधवार कपिलवस्तुको जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । त्यस्तै बिहीवार खाँणकै गृहजिल्ला रुपन्देही ४ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दैछन् ।
देउवालाई बोक्दै आएका उनै खाँणलाई अप्रत्याशित रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणले जेलसम्मै बसेर मुद्दा लड्ने परिस्थिति बनाइदियो । देउवालाई नजिकबाट साथ दिए पनि उनले आफूलाई अप्ठ्यारोमा नबचाएको भन्दै असन्तुष्टि पोखिरहेका छन् । उनको असन्तुष्टिको पारो अझै घटेको छैन । यसैले देउवा क्याम्पका यिनै खम्बा खाँण अप्ठ्यारोमा परेको अवस्थामा उनको शक्ति बुझेरै शेखरले नरम नीति लिएका हुन् ।
१४ औं महाधिवेशनमा असफल भएपछि शेखर १५ औं महाधिवेशनमा आफूलाई टीमको एउटा बलियो र पहिलो नेतामा उभ्याउन चाहन्छन् ।
फेरि एकपटक देउवाविरुद्ध कसरी बलियो बन्न सकिन्छ भन्ने सबै रणनीति अख्तियार गर्नुपर्ने बाध्यता उनलाई छ, किनकि देउवा टीम नफुटाइ शेखरको लक्ष्य पूरा हुन कठिन देखिन्छ । यही बाध्यताबीच खाँण यतिखेर शेखरका लागि नभइ नहुने पात्रमा दरिएका छन् ।
गगनले १५ औं महाधिवेशनमा सभापतिमा आँखा लगाइरहेका छन् । त्यसअघि नै देउवाविरोधी शक्ति सन्तुलन आफ्नो पक्षमा पार्नुपर्ने बाध्यता शेखरसामु छ ।
अप्ठ्यारोमा आफूलाई शेखरले साथ दिन खोजेपछि खाँणलाई भने रणनीतिक हिसाबले देउवामाथि दबाब बनाउन सहज भएको देखिन्छ, किनकि देउवाले चाहेको भए आफूलाई पक्राउ पर्नबाट रोक्न सक्ने अवस्था रहेको खाँणले निकटस्थसँग बताउने गरेका छन् । यसैले पहिले विरोधमा रहेका शेखरले भेट्ने र अप्ठ्यारोमा साथ दिन्छु भन्ने अवस्थाले खाँण थप आशावादी र रणनीतिक देखिएका छन् ।