बझाङ भूकम्प अपडेटः एक महिलाको मृत्यु, १७ जना घाइते, क्षतिको तथ्याङ्क आउँदै
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ। उनी बाटोमा हिँडिरहेका बेला भूकम्पले पहिरो आएपछि च्यापिएको बताइएको छ।
त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएका छन्।
मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।
उनका अनुसार दुई महिलाको हात खुट्टा भाँचिएको छ ।
“केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन्,” मूलखबरसँग फोनमा उनले भनिन् ।
उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ। सदरमुकामका पक्की घरहरू चर्किएका छन्। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्।
भूकम्पले घर क्षति गरेपछि स्थानीयहरूको खुला आकाशमुनि बास भएको छ। घरमा क्षति नभएकाहरू पनि भूकम्पको त्रासले बाहिरै बसेका छन्।
जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ।