
इतिहास बिर्सिएर पुराना दलविरुद्ध नियोजित प्रचारः रविलाई वर्षमानको काउन्टर
असोज ३ गते संविधान दिवसका दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । माओवादीको परम्परागत आधारइलाका पुगेपछि रविले आधाघण्टा लामो फेसबूक लाइभमा आफ्नो पार्टी किन अस्तित्वमा आयो भनेर व्याख्या गरे । रोल्पाबाट फर्किएपछि रविले गत असोज ११ गते शुक्रवार लेखेको फेसबूक स्टाटस त स्थापित दलहरूलाई विझाउने खालको थियो ।
‘४/४ वर्ष बाँकी छ, गर्नुस्, काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ,’ रविले लेखेका थिए, ‘गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’
रविले हाँक दिएपनि निर्वाचनलगत्तै सरकारमा गएर रास्वपाले आफूलाई पनि परम्परागत शैलीकै कित्तामा उभ्याएको थियो । नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद र मन्त्री पद नै गएपछि भने रास्वपाले सरकारमा होइन, प्रतिपक्षमा बसेर दबाब बढाउने नीति लियो तर असफल देखियो।
२०७३ मंसीरदेखि रविले न्यूज २४ टेलिभिजनमा चलाउन थालेको ‘सीधा कुरा जनतासँग’ ले छोटो समयमै उनलाई यसरी पत्याउनेको ठूलो जमात् खडा गरिदियो, त्यसैलाई रविले राजनीतिक मसला बनाए र ७९ सालको चुनावमा राम्रो नतिजा हात पारे। तर उनको शक्ति सीमित छ अहंकार भने भयानक।
‘सीधा कुरा’ को अधिकांश भागको ‘मोनोलग’मा रवि नेताकै आलोचना गरिरहेका हुन्थे। नेपाली समाजलाई सबैभन्दा छुने वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारका विषयमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामै सरोकारवालाको झाँको झार्नेदेखि अलपत्र परेकाहरूको उद्धारसम्मका घटनाले उनलाई चर्चित बनायो।
तर राजनीतिमा आइसकेपछि पुराना दलविरुद्ध उनको प्रचार नियोजित भाष्यको कडी हो कि भन्ने प्रश्न पनि उब्जिएको छ।
वर्षमानको काउन्टर
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूको असान्दर्भिक भएको भन्दै विकल्प खोज्नुपर्ने भनेर भाष्य निर्माण गर्न खोजिएको बताएका छनन् । पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए ।
१५४औँ गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वर्षमानले रविको नाम नलिइकन भने, “पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । कतिपय नियोजित प्रश्न छन् । इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका राजनीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्,” ।
पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्याङ्कले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने जिकिर गरे । यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे ।
गठबन्धन सरकारसँग शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्नेदेखि राष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिएर विदेश, आर्थिक र विकासलाई अगाडि बढाउने जिम्मेवारी रहेको बताए । अहिले सामाजिक र धार्मिक सद्भावनाहरु बिथोलिने परिस्थिती बनेकाले सत्तापक्ष, प्रतिपक्ष सबै शक्तिहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए ।
रविको परीक्षा
हल्ला नै राजनीति होइन र हल्लाले समाधान दिँदैन भन्ने कुरा रवि लामिछाने सत्तामा पुगेर बाहिरिएको घटनाबाट पुष्टि भैसकेको छ। सबभन्दा मुख्य कुरा, उनले समय समयमा राजनीतिक प्रणालीबारे जसरी बिना कुनै संकोच अनौठा प्रस्ताव गरेका छन्, त्यसमा उनको राजनीतिक ‘नादानी’ मात्र देखिन्न, नेपाली समाज र राजनीतिलाई कति हलुका ढंगले लिएका छन् र बुझेका छन् भन्ने पनि देखाउँछ।
रविको चरित्र के हो? उनको इमान के हो? ट्रयाक रेकर्ड के हो? यसबारे पनि समयसँगै नेपाली राजनीतिमा प्रश्न उठ्ने छन् र जनमत निर्धारित हुने छ।
