माओवादी मिसन २०८४- यस्तो छ एक्लै चुनाव लड्ने उद्घोषको भित्री अन्तर्य
जनयुद्धकालीन रापतापले २०६४ सालको चुनावमार्फत संसदीय राजनीतिमा ओझिलो बनेको माओवादी पछिल्लो समयमा संसदिय उपस्थितिकाे हिसाबले कमजाेर छ । संख्यात्मामक हिसाबले कमजोर रहेपनि उ संगठनात्मक, वैचारिक, राजनीतिक हिसाबले भने त्यस्ताे कमजोर देखिँदैन ।
शान्ति प्रक्रियामा आएपछि टुटफुट र गुटबन्दीले क्षतविक्षत भएर कमजोर र लुलो बन्दै गएको नेकपा माओवादी केन्द्रलाई पुनर्जीवन दिन शल्यक्रिया गर्नुपर्ने अध्यक्ष प्रचण्डले पटक पटक बताएका छन्। २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेस, एमालेजस्ता ठूला दललाई माथ दिएर पहिलो पार्टी बनेको माओवादी २०७९ को निर्वाचनसम्म आइपुग्दा तेस्रो स्थानमा खुम्चिन पुगेको छ, त्यो पनि ३२ सिटमा।
२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३१ लाख ४५ हजार ५ सय १९ मत ल्याएको माओवादी २०७० मा आइपुग्दा धेरै रक्षात्मक देखियो। लगभग आधा मत गुमाएको माओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा जम्मा १६ लाख ९ हजार १ सय ४५ मत मात्रै पायो। बहुमत ल्याउने बताएको माओवादीले अघिल्लो चुनावमाभन्दा १५ लाख ३६ हजार ३ सय ७४ मत गुमाएको थियो। २०६४ मा प्रत्यक्षतर्फ १२० सिटमा विजयी भएको माओवादी २०७० मा २६ सिटमा खुम्चियो।
२०७० मा समानुपातिकतर्फ पनि उस्तै कमजोर देखियो माओवादीको मत। लोकप्रिय मत/पार्टीको मत भनेरसमेत चिनिने समानुपातिकमा २०६४ मा ३१ लाख ४४ हजार २ सय ४ मत ल्याएको माओवादी २०७० मा १७ लाख ४ हजार ४ सय ७८ मत गुमाउँदै जम्मा १४ लाख ३९ हजार ७ सय २६ मतमा खुम्चियो।
मिसन २०८४ मा एकल तयारी
संसदीय राजनीतिमा आएको १७ वर्षमा विभिन्न हन्डर-ठक्कर खाएको माओवादी सच्चिने कि सकिने भन्नेबारे बहस समय समयमा हुने गर्छ। यसैबीचमा माओवादीले २०८४को चुनावमा कसैसँग पनि मोर्चाबन्दी नगर्ने बताएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आउने निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने बताए। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अबको निर्वाचनमा माओवादी केन्द्रले छुट्टै नीति कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने बताए।
पार्टी प्रवक्ता समेत रहेका सापकोटाले भने अरु पार्टीसँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेकाले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ राम्रो मत नआएको निष्कर्ष सुनाए।
उनले एक्लै प्रतिस्पर्धा गर्दा समानुपातिक मत दोब्बर हुने दाबी गरे। ‘पहिला हाम्रो समानुपातिक भोट १२ लाख थियो। अब दोब्बर हुने गरी बढाउन सकिन्छ भन्ने लागेको छ,’ उनले भने,’ अब आउने निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने छौं। जनताले माओवादी अरुभन्दा भिन्न हो भनिरहेका छन्।’ सरकारको अहिलेको कामबाट माओवादीप्रति जनताको आकर्षण बढेको उनको दाबी छ।
उनले विधान सम्मेलन र त्यसपछि हुने महाधिवेशनबाट पार्टीले नयाँ नीति र कार्यनीति तयार पार्ने बताए।
के हो यो उद्घोषको अन्तर्य
खुइलिँदै गएको नेकपा माओवादीलाई बलियो पार्टी बनाउन अहिले माओवादी रूपान्तरण अभियान चलिरहेको छ। यो अभियानका क्रममा माओवादीमा उत्साह देखिएको छ। सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि छ ।
यो अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिनेछ।
माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाइएको छ। उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकिएको छ।
अभियान अन्तर्गत वडामा विभिन्न कार्यक्रम चलिरहेका छन्। तिजको समयमा माओवादी निकट महिला सङ्गठन र जनसांस्कृतिक महासङ्घले वडादेखि पालिकासम्मको सम्मेलन र तिज मिलन कार्यक्रम गरेका थिए। अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घर घरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य तीव्र गतिमा चलिरहेको छ।
रूपान्तरण अभियानले जिल्ला जिल्लामा चहलपहल बढेको छ। अभियानले माओवादीलाई नयाँ ऊर्जा मिल्ने र पार्टीको सङ्गठन मजबुत बन्ने पार्टीका नेताहरूले बताएका छन्। अभियान अन्तर्गत माओवादीका पार्टीको भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई चलायमान बनाउन सहयोग पुग्ने छ। भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानलाई सशक्त बनाउन तीनमहिने अभियानले सहयोग पुग्ने र आगामी चुनावका लागि राम्रो वातावरण बन्नेमा माओवादी ढुक्क छ।