किन दिए गगनले मन्त्री फिर्ता बोलाउने अभिव्यक्ति, कांग्रेस इतर समूहको औकात कति !
समय समयमा कडा अभिव्यक्ति दिएर चर्चामा रहन मन पराउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिने प्रस्ताव गरेका छन् ।
कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतवार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘अबको केही समय समाजवादी मोर्चालाई मात्रै सरकार चलाउन दिऔं’ उनले भने ।
उनले वर्तमान गठबन्धनलाई फरक ढंगबाट चलाउन प्रस्ताव राखे । अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । प्रचण्ड सहित एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको पार्टीसहितको समाजवादी मोर्चा छ । यही मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिनुपर्ने र कांग्रेसका मन्त्रीहरू फिर्ता हुनुपर्ने थापाको प्रस्ताव छ ।
‘यो दुई, अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । पहिला प्रचण्डजी प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ । उहाँहरूको एउटै समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्ने छ । मलाई लाग्छ, यो कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलाऔँ । यो दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी समर्थन गरौँ । त्यसपछिको दुई, अढाई वर्ष कांग्रेसले चलाउनुपर्छ । एक्लै चलाउनुपर्छ, त्यसमा जस भए पनि र अपजस भए पनि त्यो बेला कांग्रेसले लिन्छ,’ उनले भने ।
यसरी सरकार नचलाउने हो भने ०८४ को चुनावमा पुग्दा पछिल्लो ४÷५ वर्षमा भएका काम कारबाहीको कुनै पनि दलले जिम्मेवारी नलिने अवस्था आउने उनको भनाइ छ ।
‘यो दुई वर्ष हामीले केही भएन भन्नेभयौं, त्यसपछिको दुई वर्ष उनीहरूले केही भएन भन्ने भए’, थापाले भने, ‘त्यसो भए यो चार÷पाँच वर्षको देशको जिम्मा चाहिँ कसले लिन्छ त ?’
उनले २०८४ सालको चुनावमा कांग्रेसले गठबन्धन नगर्ने प्रष्ट पारे । गठबन्धनको कुरै गर्न नपाइने उनले बताए । ‘८४ मा चुनावी गठबन्धन हुँदैहुँदैन । कांग्रेसभित्र कुरै गर्न पाइँदैन,’ उनले भने ।
शुभेच्छुक संस्थामा नियमित अधिवेशन हुने गरेको र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे पनि पार्टीले गम्भीर ढंगबाट सोच्ने बेला आएको बताए । ‘हामीले नेविसंघ ठूलो ७११ सदस्यीय बनाऔं, महिला संघ सानो आकारको बनाऔं । ठूलो र सानो जस्तो बनाए पनि दिनकै डेलिकेसन आइरहेका छन्, समस्या देखिएको छ,’ उनले भने, ‘सानो बनाए पनि ठूलो बनाए पनि सुख छैन ।’
नेता प्रदीप पौडेलले पार्टीको सान्दर्भिकतामा प्रश्न उठ्न थालेको बताए । मानिसले पार्टी विघटन गरिदिए हुन्छ भन्न थालेको उनले बताए । सरकारले काम गर्न नसके समर्थन फिर्ता लिनुपर्ने उनले बताए । ‘८४ खोजेका हौँ भने कि सत्ता छाड्नुपर्यो कि जनताको काम गर्नुपर्यो । सरकारमा गएको ८ महिना भयो कति रोजगारी सिर्जना भयो ?,’ उनले भने, ‘काम गर्न सकेनौँ भने समर्थन फिर्ता लिन्छौँ भन्न सक्नुपर्छ ।’
कार्यक्रममा अर्जुननरसिंह केसीले भेटी चढाएर नियुक्ति गर्ने परम्परा रहेसम्म पार्टी नबन्ने बताए । ‘भेटी चढाएको भरमा नियुक्ति गर्ने परम्परा रहेसम्म यो पार्टी बन्दैन,’ उनले भने ।
इतर समूहको औकात
आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियान बागमति प्रदेशले १४ औं महाधिवेशनको संकल्प उत्साह एकता र रुपान्तरण विषयक विचार गोष्ठि आयोजना गरेको थियो । प्रमुख अतिथि नेता शेखर कोइराला भनिए पनि उनी गएनन् । संसदमा हाजिर भएका उनी रुपान्तरणको कार्यक्रममा गएनन् ।
गगन थापाको समूह आफ्नो समूहलाई थप विस्तार गर्ने रणनीति पनि अघि बढिरहेको छ। यसअघि संस्थापन इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए।
शर्मा गत महाधिवेशनअघिसम्म देउवा समूहमै थिए। सो समूहबाट महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएर विजयी भएका थिए। त्यसयता उनी मुद्दागत हिसाबले संस्थापन इतर समूह निकट देखिए पनि समूहकै सदस्यको रुपमा खुलेका थिएनन्। पौडेल देउवाकै प्यानलबाट महामन्त्री उम्मेदवार थिए। पराजित भएपछि पनि उनी पनि शर्मा जस्तै संस्थापन इतर समूहसँगै नजिक देखिन्छन्।
नेता र गठबन्धन फेर्ने हैसियत छ ?
आवश्यकता र अंकगणितभन्दा १५ औं महाधिवेशनमा कसरी बलियो हुने भनेर नेताहरूले आफू अनुकूलको कार्ड फ्याँक्न थालेको देखिएको छ । गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भारी मतले गगन थापालाई पराजित गरेका थिए । यस्तो नतिजाको ९ महिनाको समय पनि बितिसकेको छैन ।
दलको सो चुनावमा ८९ सांसदमा देउवाले ६४ र गगनले २५ मत मात्रै प्राप्त गरेका थिए । दुईतिहाइभन्दा बढी मतले जितेका देउवाविरुद्ध शेखर र गगनलाई बहुमत पुर्याएर दलको नेता फेर्न कठिन पर्ने देखिन्छ, किनकि ८९ सांसदमा शेखर पक्षमा ३३ सांसद हुँदा पनि गगनले २५ मत मात्रै पाएका थिए । यस्तोमा देउवालाई दलमा पछि पार्न ४५ सांसदको मत प्राप्त गर्नुपर्ने हुन्छ । यस्तोमा दुईचार सांसद तानेर मात्रै पनि पुग्ने अवस्था शेखर–गगनलाई छैन ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पार्टी फुट्ने अवस्थाबाहेक शेखरले संसदीय दलमा बहुमत जुटाउन नसक्ने जिकिर गर्छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि पार्टीले चाहेको लयमा चलेन भनेर असन्तुष्टि भए पनि सरकार फेर्ने विषय सभापति देउवाको मनमा नभएको बताए ।