प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । अब आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको पुरानै मूल्य कार्यान्वयनमा आउने छ ।
निगमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२स्०० बजेबाट लागु हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँले वृद्धि गर्ने निर्णय गरेको थियो । यसैगरी डीजल र मट्टितेलमा प्रतिलिटर ६ रूपैयाँले तथा पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले भाउ बढाएको थियो।
दशैँ-तिहार आउनै लागेका बेला मूल्यवृद्धि गरिएको भन्दै विरोध भएपछि आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिने निर्णय गरेको थियो । साथै निगमका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारसँग सल्लाह नगरी भाउ बढाएको भन्दै निर्णय फिर्ता लिन निर्देशन दिएका थिए ।
मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।