सुन तस्करी प्रकरणको छानबिन गर्ने जिम्मेवारी पाएका डिल्लीराम आचार्य को हुन् ?
काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् ।
आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले आयोग गठन गरेको हो । सुन तस्करी प्रकरणको छानबिन गर्न तीन महिनाको समय दिएर आयोग गठन गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गरिएको छ,’ उनले भनिन् ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो ।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो । सो बाचा सरकारले पूरा गरेको छ ।
को हुन् संयोजक आचार्य ?
पूर्वन्यायाधीश आचार्य अर्घाखाँची निवासी हुन् । उनी मुख्य न्यायाधीशको वरियतामा रहेर पनि बढुवा नहुँदै सेवा निवृत्त भएका थिए । उच्च अदालत पोखरामा उनी कामु मुख्य न्यायाधीश थिए ।
उनी लामो समय उच्च अदालत तुलसीपुरमा रजिष्ट्रार थिए । भाइको घर पनि दाङको देउखुरीमा भएकाले जिल्लाका राजनीतिक दलका नेता, सामाजिक अगुवा र पत्रकारहरुसँग उनले राम्रो सम्बन्ध स्थापित गरेका थिए । तुलसीपुरपछि केही समय बुटवलमा पछि पोखरामा रहेर समेत उनले काम गरेका थिए । दाङ र बुटवलका पत्रिकाहरुमा उनको नियमित स्तम्भ प्रकाशित भइरहन्थ्यो ।
आयोगका सदस्यहरुमध्ये किशोरजङ्ग कार्की अर्थ मन्त्रालयका, प्रेमराज जोशी गृह मन्त्रालयका र सहकुल थापा पूर्वएआईजी हुन् ।