अमेरिका र चीन घुमेर फर्किएका प्रचण्डमा देखिएको कन्फिडेन्सले दिएको सन्देश
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभा र चीनको औपचारिक भ्रमणका लागि एकै पटक लामो समय देशबाहिर निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिवार स्वदेश फर्किएका छन्। दुई देश घुमेर फर्केका प्रचण्डको अनुहारमा कन्फिडेन्स बढिरहेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गरेका थिए। उनले त्यहाँ आफ्नो न्यूयोर्क र चीन भ्रमणबारे अधिकांश पहिले नै सार्वजनिक भइसकेका कुराहरू सञ्चारकर्मीलाई सुनाए। प्रचण्डले उत्तरी नाकाहरू कोभिडअघिकै अवस्था अब सञ्चालनमा आउने र परम्परागत स्थानीय नाकाहरू पनि त्यस्तै गरी चल्ने बताए।
उनले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा चिनियाँ सहरहरूबाट उडान सञ्चालन गर्नेबारे पनि महत्त्वपूर्ण छलफल भएको जानकारी दिए। त्यसका लागि आन्तरिक रूपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रचण्डले चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।
आफू देशबाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूले राखेको माग सम्बोधन गरेको र स्वास्थ्यकर्मीहरूको गुनासो पनि चाँडै सम्बोधन हुने उनले बताए । प्रचण्डले हालै चीनले जारी गरेको आफ्नो नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई मान्यता नदिएको विषयमा पनि केही उपलब्धि हुने पनि बताएका छन्।
चिनियाँ समकक्षीसँग भएको द्विपक्षीय वार्तामा ‘मुख्यतः नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारणलाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानहरुमा सौर्य प्रणाली जडान… लगायतका विषयमा गहन छलफल’ गरिएको उनको भनाइ थियो।
दुई देशको संयुक्त वक्तव्यको सातौँ बुँदामा केरुङ–रसुवागढी–चिलिमे १२० केभी क्षमताको सीमापार विद्युत प्रसारणलाइनको निर्माण यथाशीघ्र मितिमा सुरु गर्ने उल्लेख छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा भएको भेटवार्तामा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताए। आफ्नो धारणामा राष्ट्रपति सीले पनि समर्थन जनाएको उनले बताए।
त्यस्तै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशका उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।
किन कन्फिडेन्स देखिए प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले चिनियाँ नेताहरुसँग गरेको औपचारिक अनौपचारिक संवादले चीन र नेपाल (प्रचण्ड सरकार)बीच सम्बन्धमा चिसोपना आएको दाबीलाई खण्डन गरेको छ। सी र प्रचण्डबीच भएको एक्लाएक्लै कुराकानीले अवश्य पनि प्रचण्डलाई थप हौसला दिएको छ।
प्रचण्डलाई चीनसँगको सम्बन्धका बारेमा आफ्नो धारणा र सीमा प्रष्ट पार्न अवसर मिल्यो भने सँगै सीलाई पनि नेपालसँगको सम्बन्ध र सम्भावनाका विषयमा रहेका जिज्ञासाहरु मेट्ने अवसर मिलेको छ।
सी प्रचण्ड प्रतिनिधिमण्डलस्तरीय भेटमा चिनियाँ कम्युनिष्ट पार्टी बरियतामा पाँचौ नम्बरमा रहेका तथा पार्टी मुख्यालयका मुख्य सचिव काइ छि र आर्थिक मामिलाका उपप्रधानमन्त्री पनि सामेल थिए जसले प्रचण्डको भ्रमणलाई चीनले दिएको महत्वतिर संकेत गर्छ।
व्यवसायी पनि भन्छन् निक्कै फलदायी
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रचण्डको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताएका छन्। प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट अध्यक्ष ढकाल सहभागी थिए।
ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए। भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सीसीपीआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो। उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए।
समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिएका छन्।
उनले भन, ‘निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौँ। यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवं लगानीकर्ताको सम्मेलन नै गरेका छौँ र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौँ।’
समिटमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआइटीमा आबद्ध एक सयभन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता थियो। सम्मेलनमार्फत उनीहरूले नेपालमा लगानीको सम्भावना र अवस्थाका बारेमा जानकारी लिएका थिए।
‘हामीले सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका सम्भावना देखाइदिएका छौँ। प्रधानमन्त्रीले पनि नेपालमा लगानीका लागि अपिल गर्नुभएको छ,’ अध्यक्ष ढकालले भने, ‘प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी रहेको महसुस मैले गरेको छु।’
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र चीनका तर्फबाट वाणिज्य उपमन्त्री सहभागी भएका थिए। चिनियाँतर्फबाट आफ्ना धारणा राख्ने क्रममा सीसीपीआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने बताएका थिए।
सम्मेलनपछि व्यक्तिगत रूपमा पनि चिनियाँ उद्योगी व्यवसायीहरूले नेपालमा लगानीका लागि आउने विषयमा चासो व्यक्त गरेको बताउँदै अध्यक्ष ढकालले नेपालमा विदेशी लगानीको सुरक्षाको सुनिश्चितता गरिएको जानकारी गराएका थिए। उनले विदेशी लगानी भित्र्याउने प्रक्रिया सहजीकरणका लागि महासंघले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यसमार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताए।
त्यसैगरी भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका लामो समयदेखि खुल्न नसक्दा यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरूपमा असर गरिरहेको छ। यस भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएकाले पनि स्थानीय तहका सीमा क्षेत्रका व्यवसायीलाई मात्र नभएर देशकै उद्योगी व्यवसायीहरूलाई पनि यसबाट प्रत्यक्षरूपमा लाभ पुग्ने अध्यक्ष ढकालको भनाइ थियो।
उनले भने, ‘चीनतर्फ हाम्रो निकासी धेरै नभए पनि नाकाहरू बन्द हुँदा दुवैतर्फ हुने ‘क्रस बोर्डर’ व्यापारमा असर परेको छ। यसबाट आयात निर्यात प्रभावित भएको छ। अब नाका खुल्ने भएपछि यसले दुवैतर्फ आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्नेछ। यसपटकको चीन भ्रमणको यो पनि एक उपलब्धि हो।’
नेपालबाट चीनतर्फ सेवा तथा वस्तु निर्यात निकै कम रूपमा छ। तर नेपालले गर्ने कूल आयातमा १६ प्रतिशत हिस्सा चीनको छ। यस्तो अवस्थामा दुवै देशका प्रधानमन्त्रीबीच भएको नेपाललाई कृषिजन्य उत्पादनका लागि अनुदान दिइनुका साथै नेपालमा कृषि तथा पशुपालनमा चीनतर्फबाट हुने नयाँ सहयोगबाट पनि नेपालमा कृषिजन्य उद्योग स्थापना र सञ्चालनमा सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ।
नेपालले चीनसँग अहिले ठूलो व्यापार घाटा बेहोरिरहेको अवस्थामा कृषिजन्य वस्तुहरूको उत्पादन गरी चीनमा निर्यात बढाई व्यापार घाटा कम गर्नका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा गर्ने विषयमा पनि सहमति भएकाले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अध्यक्ष ढकालले बताए। कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्त्वपूर्ण रहेको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योगधन्दा खोल्नका लागि सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ।
नेपालमा कृषिजन्य उत्पादन निकै कम रहेको र त्यसमा पनि निर्यातयोग्य उत्पादन झनै कम रहेको अवस्था छ। नेपालले लामो समयदेखि कतिपय उत्पादन निर्यातमा चीन सरकारले छुट दिनुपर्ने माग राख्दै आएको थियो। यस विषयमा पनि द्विपक्षीय छलफल भएकाले कार्यान्वयन हुनेमा अपेक्षा गरिएको उनको भनाइ थियो।
भ्रमणका क्रममा विद्युत् प्रसारण लाइन निर्माणको सहमतिले पनि नेपालको उद्योग व्यवसायका साथै यस क्षेत्रमा हुने लगानीमा सकारात्मक प्रभाव पार्ने ढकालले बताए।