अब इजरायलमा रोजगारी पनि कोरियाकै मोडलमा, कस्तो छ त्यहाँको रोजगार बजार

मूलखबर संवाददाता
काठमाडौं

नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा ५०० जना नेपालीलाई लैजाने इच्छा देखाएको छ । पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारका रूपमा नेपाली लैजाने इजरायलले रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउने तयारी थालिएको प्रवक्ता तथा सहसचिव घिमिरेले बताए ।

यसैगरी पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा इजरायलबाट दोस्रो चरणमा पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदार माग गरिएको मन्त्रालयले जनाएको छ । इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक जाने गरेका थिए ।

तर, म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

बन्द भएको झन्ड‌ै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच विसं २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि विसं २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।

यसपछि २०७८ सालमा पहिलो चरणमा एक हजार छ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट एक हजार १७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनोट भएका थिए । सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब रु एक हजार पाँच सय ४३ डलर तोकिएको बताइएको छ ।

कस्तो छ इजरायली रोजगारी बजार

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार नेपाली कामदार सन् २००४ देखि इजरायल जान थालेका छन्। २००४ सालमा कम संख्यामा गए भने त्यसपछि क्रमिक रुपमा संख्या बढ्दै गएको छ। त्यहाँ पुगेका नेपालीले बूढाबूढीको स्याहारसुसार र कृषि क्षेत्रमा काम पाउँछन्। केहीले होटलमा पनि काम गर्छन्। इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपाली पनि सोही काम गर्न त्यहाँ जान रुचाउँछन्। इजरायलमा करि बदुई हजार ५०० नेपाली रहेको तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ। 

इजरायल सरकारले ‘कियर गिभर’मा दक्ष जनशक्तिलाई प्राथकितामा राखेको छ। सोहीअनुसार कार्यविधिमा योग्यता, सीप तथा तालिम तोकेको विभागको भनाइ छ । इजरायल रोजगारीमा जान इच्छुक कामदारले कियर गिभर सम्बन्धी ज्ञान तथा सीप आवश्यक रहेको विभागले जनाएको छ।