
कोशी सरकार सकस, माओवादीलाई मनाउन नसकेपछि कांग्रेसलाई छिर्के हान्दै एमाले
कोशीमा सरकार टिकाउने कि संसद भंग हुने अवस्थामा पुग्ने भन्ने दोधार कायमै छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका कार्कीका सामुन्नेमा आवश्यक बहुमत सांसद संख्या भने देखिएको छैन ।
एमालेसँग ४० सांसद रहेका छन् तर बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एमालेलाई साथ दिने संकेत गरेको छैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै सरकारलाई समर्थन नरहेको बताइसकेका छन् । त्यसले गर्दा राप्रपाका ६ जना सांसदमा पनि आजका दिनमा एमालेभन्दा फरक कित्तामा रहेका छन् । जसले गर्दा एमालेबाट मुख्यमन्त्री भएका कार्कीका लागि कम्तीमा पनि ८ जना सांसद आवश्यक पर्छ ।
एमालेकै उपसभामुख रहेको र सभामुख नभएका कारण प्रदेशसभा सञ्चालन उपसभामुखले गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सभाध्यक्ष सिर्जना दनुवारले मतदान गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा एमालेसँग एक सीट घटेर ३९ मात्रै हुनेछ । त्यसैले, एमालेलाई आवश्यक बहुमत पुर्याउन ८ जना सांसद चाहिन्छ । त्यही संख्या पुर्याउन नसक्ने बुझेपछि एमाले नयाँ रणनीतिमा लागेको छ ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको सरकारले विश्वासको मत नपाएपछि उपधारा ५ मा झर्नेछ । त्यही उपधारा ५ मा एमालेले आफ्नो रणनीतिक चाल अपनाउन खोजेको छ । एमाले स्रोतका अनुसार त्यसका लागि एमाले अहिले कांग्रेससँग निरन्तर संवादमा रहेको छ । पहिलो प्रयास कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोज्नेमा रहेको छ ।
कोशी प्रदेशमा पुन: एमाले र माओवादी केन्द्र लाई मिलाउने कोसिस पनि भइरहेको छ । तर माओवादीकै अरु सांसद भने एमाले-माओवादी पुन:मिल्ती असम्भव देख्छन् । “केन्द्रमा एकप्रकारको गठबन्धन छ । त्यसैले प्रदेशमा अर्कोखाले गठबन्धन बन्न सम्भव नै छैन । यो मिल्दैन पनि, हुँदैन पनि,” माओवादीका एक सांसद भन्छन् ।”
माओवादीले नमानेपछि एमालेले कांग्रेससँग संवाद अघि बढाएको छ।
स्रोतका अनुसार त्यसका लागि एमाले नेताहरुले कांग्रेसका नेतासँग अनौपचारिक संवाद गरिरहेका छन् तर कांग्रेसबाट एमालेले ग्रिन सिग्नल भने पाएको छैन । एमालेले उक्त प्रयासमा आस पनि कमै गरेको छ । कांग्रेसलाई इन्गेज गर्ने उक्त रणनीतिसँगै कांग्रेसभित्रै एमालेले अर्को खेल खेल्न खोजेको छ ।
एमाले अध्यक्ष केपी ओलीनिकट स्रोतको दाबीमा उपधारा ५ अनुसार बन्ने सरकारमा एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्न खोजेको छ । ती नेताका अनुसार कांग्रेसको संस्थापनइतर समूहका नेता केदार कार्कीलाई अगाडि सार्न खोजेको छ । शेखर कोइराला र महामन्त्री गगन थापा समूहका सांसद कार्कीलाई उम्मेदवार बनाउँदा राप्रपाले पनि समर्थन गर्ने संभावना रहेको छ । त्यसैले, एमालेले कार्कीलाई समर्थन गर्नेगरी रणनीति बनाएको छ ।
प्रदेशसभामा कांग्रेसका २९ सांसद रहेका छन् । ती २९ मध्ये कोइराला र देउवा समूहका सांसद १०–१० जना रहेका छन् । प्रदेशसभामा कृष्ण सिटौला समूहका सांसद ९ जना रहेका छन् । अहिले देउवा र सिटौलाको समूह मिलेको अवस्थामा रहेका छन् । उपधारा ५ मा बन्ने सरकारका लागि कार्की उम्मेदवार भएमा कांग्रेसभित्र विवाद हुनसक्ने र अन्य सांसदहरुले मतदान नगरेको अवस्थामा पनि एमाले र राप्रपाको मतले विश्वासको मत पाउने स्थिति बनाउने एमालेको रणनीति रहेको छ ।
