एमाले बागमतीमा ओली गुटमै रोचक भिडन्त, बस्नेत र बाँस्कोटामा कस्को पल्ला भारी !
नेकपा (एमाले)को वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । बिहानदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ ।
निर्वाचनमा अध्यक्षका लागि चारजनाको उमेदवारी परेको छ । अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उमेदवारी दिएका छन् ।
उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ । सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।
उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।
ओलीलाई अटेर गर्दै उनकै गुटभित्र भिडन्त
अध्यक्ष केपी शर्मा ओलीले सोमवार उद्घाटन गरेपछि अधिवेशनको बन्दसत्र मंगलवारसम्म चलेको थियो । ओलीले नेतृत्व चयन सर्वसम्मतिबाट गर्न दबाब बढाएका थिए । तर, बुधवार साँझसम्म पनि दाबेदारहरू तयार नभएपछि बिहीवार बिहान नयाँ नेतृत्वका लागि चुनाव हुने भएको हो ।
प्रदेश अध्यक्षका लागि कम्तीमा ५ आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, वर्तमान अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । रातारात सहमति नभए बिहीवार बिहान ८ बजेबाट हुने मतदानमा मुख्य प्रतिस्पर्धी दाहाल (मकवानपुर) र ढुंगेल (रामेछाप) हुने देखिएको छ । उम्मेदवारी दर्ताका क्रममा पनि दाहाल र ढुंगेल नेता कार्यकर्ताबीच बलिया प्रतिपस्र्धीका रुपमा चर्चामा थिए । अरुले गुपचुप उम्मेदवारी दर्ता गरे पनि दाहाल र ढुंगेलले आफूहरू मुख्य प्रतिस्पर्धी रहेको बताएका छन् । यी दुई बाहेकका नेताको उम्मेदवारी निर्वाचन नगरी सहमतिमा नेतृत्व चयन गर्ने हिसाबले परेको एक नेता बताउँछन् ।
दाहालको उम्मेदवारी मनोनयनमा हिक्मत लामा प्रस्तावक र देवकृष्ण विकल समर्थक छन् । ढुंगेललाई भने आनन्दकुमार श्रेष्ठले प्रस्ताव र वचन देउजाले समर्थन गरेका छन् ।
महेश र गोकुलको प्रतिस्पर्धा
चुनावी प्रतिस्पर्धामा उत्रिँदै गरेका दुई नेतामा संयोग भने अनौठो देखिएको छ । रामेछापबाट चारपटक प्रतिनिधिसभामा पराजित भएका कैलाश ढुंगेल र मकवानपुरबाट चारमध्ये तीनपटक प्रतिनिधिसभामा जितेका कृष्णप्रसाद दाहाल प्रदेश अध्यक्षका लागि आमनेसामने भएका छन् । यी दुवै अहिले पार्टीमा केन्द्रीय सदस्य छन् ।
दाहाल २०४८, २०५६ र २०७४ मा मकवानपुरबाट विजयी भएका थिए । २०५१ सालमा भने उनी पराजित भएका थिए । तर रामेछापका ढुंगेल भने अहिलेसम्म प्रतिनिधिसभामा आउन सफल भएका छैनन् ।
ढुंगेल २०७४ मा रामेछापबाट प्रदेशसभा चुनाव जितेर आर्थिक मामिलामन्त्री भए । उनले तीनपटक एमाले रामेछापको नेतृत्व गरिसकेका छन् । तर, मन्त्री हुँदा बजेट रामेछाप जिल्लाको पनि खाँडादेवी गाउँपालिकामा मात्र थुपारेको भन्दै उनीसँग आफ्नै दलका नेता चिढिएको बताइन्छ । ढुंगेलले आफूलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको आशीर्वाद रहेको बताउँदै आएका छन् । समकक्षीहरू उनलाई कडा प्रशासकजस्तै स्वभावका मान्छन् ।
‘कुशल ढुंगेल नेताको मात्रै होइन कार्यकर्ताको कुरा पनि धैर्यतपूर्वक सन्दैनन् । अरूको कुरा नसुनीकन जवाफ फर्काउने उनको शैलीलाई धेरैले कमजोरीको रूपमा लिने गर्छन्,’ एक नेताले भने ।
तर, सधैँ चुनाव जित्दै आएका मकवानपुरका दाहाल भने ढुंगेलभन्दा फरक रहेको उनका एक समकक्षीले बताए । उनका अनुसार दाहाल जनतामा घुलमिल हुन र लो प्रोफाइलमा बस्न रुचाउँछन् । उनले अघिल्लोपटक अर्थ समितिको सभापति भएरसमेत काम गरेका थिए । एमाले विभाजनअघि विवाद उत्कर्षमा हुँदा उनी पार्टी फुट्न हुँदैन भन्ने पक्षमा थिए ।
दाहाल पनि अध्यक्ष ओलीकै समूहभित्रका हुन् । ओलीको एकलौटी प्रभाव र वर्चस्व रहेको बागमतीमा यसै समूहका दुई नेता प्रतिष्ठाको लडाइँमा छन् ।
दुवैजना अध्यक्ष ओलीकै समूहको भए पनि दाहाललाई गोकुल बाँस्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेतले बोकेको बताइन्छ । देखिनलाई दाहाल र ढुंगेल भए पनि खास प्रतिस्पर्धा बाँस्कोटा र बस्नेतको भएको एमालेकै नेताहरू बताउँछन् ।
गत निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि बाँस्कोटाले काभ्रे २ मा फराकिलो अन्तरले जितेका थिए । तर बस्नेत भक्तपुर २ बाट कांग्रेसका दुर्लभ थापासँग पराजित भए ।
बागमती प्रदेश एमालेको बलियो प्रभाव रहेको क्षेत्र मानिँदै आएको थियो । तर गत निर्वाचनमा यो प्रदेशमा एमाले जम्मा ४ सीटमा सीमित हुन पुगेको थियो । बाँस्कोटाबाहेक बागमती प्रदेशमा एमालेबाट काठमाडौं– ९ मा कृष्णगोपाल विजयी, ललितपुर २ मा प्रेमबहादुर महर्जन, मकवानपुर २ बाट महेशकुमार बर्तौला विजयी भएका थिए ।
बलियो प्रभाव रहेका अन्य क्षेत्र हारेपछि एमालेलाई यो प्रदेशमा दरिलो र चुनाव जिताउन सक्ने नेताको नेतृत्व आवश्यक भएको बहस छ । यस्तोमा चुनाव जितिरहने दाहाल उपयुक्त भएको बाँस्कोटा पक्षको लबिङ छ । तर अध्यक्षको कडा रुलिङपछि बाँस्कोटाले खुलेर दाहालको पक्षमा मत माग्ने काम नगरेको उनी निकट एक नेता बताउँछन् ।
‘उहाँ खुल्दा काभ्रे, सिन्धुपाल्चोक मात्रै दोलखा र काठमाडौंका पनि धेरै प्रभावित हुने अवस्था छ,’ बाँस्कोटानिकट स्रोत भन्छ, ‘प्यानल बनाएर नखुले पनि अन्तिममा प्रतिस्पर्धा हुँदा उहाँको पनि भित्री रुपमा एउटा लाइन त हुन्छ नै ।’
कहिल्यै चुनाव नजितेका ढुंगेलले एमालेलाई थप बलियो बनाउन नसक्ने दाबी उनीहरूको छ । तर, पुराना नेता ढुंगेललाई जिताउन युवा नेता बस्नेतले पनि उत्तिकै सक्रियता देखाइरहेका छन् ।
ती नेताका अनुसार रातारात कुनै अनपेक्षित सहमति नभएको भए अध्यक्ष ओली, महासचिव पोखरेलबाहेकका अधिकांश दाहालको पक्षमा खुल्नेछन् । प्रतिस्पर्धामा दाहालले २ सयभन्दा बढी मतले जित्ने सो समूहको दाबी छ । तर ढुंगेलले आफूलाई अध्यक्ष केपी ओलीको आशिर्वाद प्राप्त भएको सन्देश दिँदै आएका छन् ।
बुधवार दाहाल अधिवेशनका प्रतिनिधिकै वरिपरि देखिएका थिए । तर ढुंगेल केन्द्रीय कार्यालयमा नेताहरूको भेटघाटमा बढी व्यस्त रहेको देखिन्थ्यो ।
लुम्बिनीबाट बागमती हुँदै बाँकी प्रदेशमा पनि प्यानलसहितका प्रतिस्पर्धा भए गुटबन्दी संस्थागत हुने र आउँदो महाधिवेशनमा अप्ठ्यारो पर्ने बुझाइमा ओली छन् । ओली र शंकर पोखरेल ढुंगेलको पक्षमा खुले विष्णु पौडेलसहितका नेता दाहालको पक्षमा खुल्ने एक नेता बताउँछन् । तर, पौडेलले बागमतीमा अहिलेसम्म कतै पनि पक्षधरता नदेखाएको बताइन्छ । प्यानल नबनाउन चेतावनी आए पनि उम्मेदवार खडा गर्ने र समूहका रूपमा भोट माग्ने तयारी नेताहरूले गरेका छन् ।