काठमाडौं महानगरपालिकासँग ४ बुँदे सहमतिपछि ईको धर्ना स्थगित

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । काठमाडौं महानगरपालिकासँग चार बुँदे सहमति भएपछि नागरिक अभियन्ता ‘ई’ले राष्ट्रिय सभा गृहमा आठ दिनदेखि उभिएर दिँदै आएको धर्ना स्थगित गरेका छन् ।

महानगरपालिकाले फुटपाथमा व्यापार गर्दै गुजारा चलाउँदै आएकाहरुमाथि धरपकड गर्दै हटाएको विरोधमा अभियन्ता ‘ई’ले महानगरपालिकाको राष्ट्रिय सभा गृहस्थित कार्यालय परिसरमा उभिएर धर्ना दिँदै आएका थिए । ११९ घण्टासम्म उभिँदा उनका गोडा सुन्निएका छन् ।

बुधबार बेलुका भने काठमाडौं महानगरपालिकासँग उनको चार बुँदे सहमति भएको छ र धर्ना स्थगित गरेका छन् ।

सहमति अनुसार फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामान काठमाडौं महानगरपालिकाले स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित धनीलाई सामान फिर्ता गरिने छ ।

अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्क्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा अध्ययन गरी सुझाव दिन आठ सदस्यीय कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।

कार्यदलमा काठमाडौं महानगरपालिकाले तोकेका तीन जना, अभियानकर्ता ईको तर्फबाट तोकिएका दुई जना तथा भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीका एक–एक जना प्रतिनिधि रहने छन् ।

साविकका फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्र उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति पनि भएको छ ।

सडक व्यापारीको प्रतिनिधिहरुको रोहबरमा अभियन्ता ई, काठमाडौं महानगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयर बालेन शाहको सचिवालयका सदस्य धिरज जोशीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सडक व्यापारीका प्रतिनिधिको रुपमा राज कुमार श्रेष्ठ, सूर्यबहादुर थापा र भोज कुमार फुयालले पनि हस्ताक्षर गरेका छन् ।