चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

ल्हासा (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको बताएका छन् ।

आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्डले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।’

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस भेटवार्ताका क्रममा नेपाललाई उनले निकै नै महत्त्व दिएको आफूले पाएको बताए ।

अमेरिकाको न्युयोर्कबाट सिधै चीनको हाङझाउमा गएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा सीले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक–एक घन्टा समय दिएको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।’

सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने उनले बताए । यसको परिणाम आगामी दिनमा देखिने उनको भनाइ छ ।

हाङझाउमा राष्ट्रपति सीलाई भेटेपछि एसियाली खेलकूदको उद्घाटन समारोहमा सहभागी भएको र त्यसपछि बेइजिङमा आएपछि प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री लीसँगको द्विपक्षीय वार्ताका क्रममा भएका सहमति र सम्झौताले नेपालको हितमा योगदान गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले तिब्बत नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिए ।

ल्हासामा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन समेत गरेका छन् ।