चीनको कृषि प्रणाली, राष्ट्रिय पुरस्कार जितेको छोङछिङको कृषि फार्ममा प्रचण्ड पुग्दा…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको छोङछिङमा कृषि फार्म अवलोकन गरेका छन्। दाहालले मंगलबार छोङछिङमा महानगर गइ कृषि फार्म अवलोकन गरेका हुन्।
नेपाल र चीनबीच कृषि तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौताको दस्तावेजमा हिजो हस्ताक्षर भएपछि मंगलबार प्रधानमन्त्रीले प्रतिष्ठानको अध्ययन भ्रमण गरेका हुन्।
चीनमा कृषि प्रविधिको विकासका लागि मुख्य जिम्मेवारी वहन गरिरहेको कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमणका क्रममा प्रतिष्ठान पुग्दा प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष गौ स्याउ होङले स्वागत गरेका थिए।
प्रचण्डलाई प्रतिष्ठानका अधिकारीहरुले प्रतिष्ठानले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले १५ वटा इन्स्टिच्युटहरु मार्फत अहिले २ हजार ८ सय वटा अनुसन्धान परियोजना संचालन गरिरहेको छ । प्रतिष्ठानले विशेष गरी आधारभुत कृषि विज्ञान, व्यावहारिक प्रविधि, कृषि स्रोत र वातावरण संरक्षण, एवम कृषि उपकरण र इन्जिनियरिङको विषयमा केन्द्रित गरेर अनुसन्धान गर्दै आएको छ । प्रतिष्ठानले कृषि प्रविधिको तालिम पनि संचालन गर्दै आएको छ ।
प्रतिष्ठानमा मातहतमा प्रान्तस्तरका अनुसन्धान एवम प्रयोगात्मक स्थलहरु रहेको र प्रतिष्ठानले बाली परीक्षणका ६ सय ६७ हेक्टर जग्गा प्रयोग गरिरहेको जानकारी प्रतिष्ठाले दिएको छ । दुइ पटकसमम्म राष्ट्रिय विज्ञान प्रविधि प्रगति पुरस्कार र प्रान्त तहमा थुप्रै पुरस्कार प्राप्त गरेको प्रतिष्ठानले धान, मकै, खुर्सानी, फलफूल, माछा, च्याउ, भान्टा लगाएत ४ सय ५६ किसिमका अन्न एवम तरकारका नयाँ प्रजातीको विकास गरेको छ ।
प्रचण्डसँग परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र खानेपानीमन्त्री महेन्द्र राय यादव पनि गएका थिए। प्रचण्डसँग चीन भ्रमणमा रहेका विभिन्न मन्त्रालयका सचिव र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगेर त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे जानकारी लिए।