चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गृह मन्त्रालयमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ”, उहाँले भन्नुभयो । चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गर्नुभयो ।
“चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् । त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “त्यसमा कुनै प्रकारको द्वविधा नराख्न र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।”
छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।
उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।