कांग्रेसले भन्यो– विद्यालय शिक्षा विधेयक परिमार्जन हुन्छ
काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।
मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (असोज १० गते) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरेको जानकारी दिए ।
यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए । सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।
सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरुले विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा यही असोज ५ गते शिक्षा मन्त्री, कानुन मन्त्री, अर्थ मन्त्री र सञ्चार मन्त्री समेतको सहभागीतामा भएको वार्तामा शिक्षकहरुसँग ६ बुँदे सहमति भएको थियो । सो सहमतिसँगै शिक्षकहरुको एक समूहले आन्दोलन फिर्ता लिएको थियो ।
तर ती सहमतिमा राहत शिक्षकहरुले चित्त बुझाएनन् । राहत शिक्षकहरुले आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी राखेका छन् । शिक्षकहरुको आन्दोलन लम्बिएपछि नेपाली कांग्रेसले समस्या समाधानको पहल अनुसार सरोकारवालासँग छलफल गरेको हो ।