कार्यवाहक प्रधानमन्त्रीले किन गरे सरकार ढल्ने कुरा, यी हुन बैठकले गरेका ११ निर्णय
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ। विभिन्न ११ वटा निर्णय गर्दै कांग्रेस बैठक सकिएको हो।
केन्द्रीय समिति बैठकमा सरकारको प्रभावकारितामाथि प्रश्नहरू उठे । ती प्रश्नको मन्त्रीहरूबाट जवाफ पनि आयो । जवाफ सरकारको बचाउ र बाहना देखाएर भाग्ने किसिमकाे थियाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा कांग्रेस सबैभन्दा ठूलाे हिस्सेदार हाे । २५ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेसबाट नाै जना मन्त्री छन् ।
याे सरकारमा कांग्रेसबाट मन्त्री भएकाहरू राम्राे कामका लागि कतै देखिँदैनन्, देखिन्छन् त विवादित विषयमा मात्र । त्यसैले कांग्रेस बैठकमा केन्द्रीय सदस्य प्रदीप पाैडेले भनेका थिए- हाम्रा मन्त्रीहरूले राम्राे काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूकाे चर्चा नै शून्य छ । जबकी कांग्रेसले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयकाे नेतृत्व लिएकाे छ ।
यसरी बैठकमा मन्त्रीहरूकाे कार्यसम्पादनमाथि प्रश्न उठेपछि उनीहरूले निरीहता प्रस्तुत गरे । बाहाना बनाएर प्रश्नबाट भाग्ने असफल प्रयास गरे ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजालले चामल र चिनीको अभाव समाधान गर्न भारतसँग कुरा भए पनि कार्यान्वयनमा नआएको गुनासो गरे । उनले भारतको वाणिज्यमन्त्री र राजदूतसँग कुरा भए पनि कार्यान्वयन नभएको बैठकमा जवाफ दिए ।
कार्यवाहक प्रधानमन्त्रीले नै गरे सरकार ढल्ने चिन्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कांग्रेसकै नेताको काँधमा छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अहिले कार्यवाहक प्रधानमन्त्री हुन्।
कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले केन्द्रीय समितिमै मुलुकको पछिल्लो परिस्थिति राम्रो नरहेको बताएका छन्। ‘मुलुकको परिस्थितिमा जातीय क्षेत्रीय कुराका संकेत राम्रा छैनन्। त्यसका लागि कांग्रेसले सद्भाव कायम गर्नुपर्छ,’ खड्काले केन्द्रीय समितिमा भने।
उनले कांग्रेसले मध्यमार्गी धार अपनाएको र उक्त धार तलमाथि भए सरकार गर्ल्यामगुर्लुम ढल्ने संकेत गरे। ‘कांग्रेसको मध्यमार्गी धार अलीकती तलमाथि भयो भने सबै कुरा गर्ल्यामगुर्लुम ढल्ने खतरा छ,’ खड्काले भने।
कांग्रेसका ११ निर्णय
यही असोज ४ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा शुरू भएको बैठक सोमबार साँझ सकिएको हो । विभिन्न ११ वटा निर्णय गर्दै कांग्रेस बैठक सकिएको हो।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै ११ वटा निर्णयबारे जानकारी दिएका हुन् ।
जसमा युवा पलायन रोक्नेदेखि बेरोजगारी समस्या हटाउनेसम्मका विषय समेटिएका छन् । युवा पलायन रोक्ने विषय २ नम्बर बुँदाको ‘ख’मा छ । यसमा युवाबारे यसअघि ल्याएको ‘पोलिसी ह्याकाथन अन गिग इकोनोमी एण्ड क्लाइमेट चेन्ज’ कार्यक्रम सफल भएको दाबी गरिएको छ ।
यस्तै ५ नम्बर बुँदामा ‘राज्य कोषको रकम अनावश्यक र अनुत्पादक क्षेत्रमा फजुल ढंगले खर्च गरिनु हुन्न भन्ने हाम्रो नीति नै हो’ भनिएको छ ।
अर्थतन्त्रको अहिलेको चुनौतिपूर्ण अवस्थामा यो विषयमा अझै ध्यान दिनु पर्ने उक्त बुँदामा उल्लेख छ ।