पुर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । पूर्व सचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
गोरखा घर भएका श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।
दोस्रो संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री रहेका थिए । उनीमाथि शान्ति तथा पुनर्निर्माण कोषको रकम अनियमितता गरेको आरोप लागेको थियो ।
प्रचण्ड र श्रेष्ठ एउटै विद्यालयमा थिए शिक्षक
२०२६ चैतदेखि २०३५ कात्तिकसम्म गोरखाको आरुघाटस्थित भीमोदय माविका शिक्षक थिए श्रेष्ठ । श्रेष्ठ भीमोदय माविमा प्रधानाध्यापक हुँदा पुष्पकमल दाहाल प्रचण्ड त्यही विद्यालयमा कृषि विषय पढाउँथे । पछि प्रचण्डले राजिनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका थिए ।
श्रेष्ठ भने २०३६ कात्तिक २६ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरू भएको केही वर्षपछि प्रचण्डकै गृहजिल्ला चितवनमा रामकुमार श्रेष्ठ प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएका थिए ।
करिब २८ वर्ष निजामती सेवामा विताएर उनले २०६४ माघ ८ मा सचिवबाट अवकाश पाएका थिए । अवकाशको करिब ६ वर्षपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म करिब एक वर्ष उनी मन्त्री बनेका थिए ।
निजामती सेवा प्रवेश गरेको ३ वर्षपछि २०३९ सालबाट जग्गाजमिन खरिद, सेयर किनबेच, नातेदार तथा आफन्तका नाममा उद्योग सञ्चालनलगायतमा उनको संलग्नता देखिएको छ ।
२०३९ फागुन ११ मा सामाखुसीमा १२ आना ३ पैसा जग्गा खरिद गरेका श्रेष्ठले २०७२ सम्म आइपुग्दा दुई दर्जनभन्दा बढी ठाउँमा करोडौं मूल्य बराबरको जग्गा किनेको अभियोग थियो ।