प्रचण्डको चीन भ्रमण : चीनले १६ किलोमिटर प्रशारण लाइन अनुदानमा बनाइदिने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल र चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सोमबार २२० केभी प्रशारण लाइन निर्माण चीनले अनुदानमा बनाइदिने सहमति भएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच पनि अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी ऐतिहासिक सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जानुअघि ऊर्जा र पूर्वाधार क्षेत्रमा महत्वपूर्ण सहमति गर्ने तयारी गरिएको जानकारी दिएका थिए ।

अन्ततः चीन रसुवाको चिलिमेबाट तिब्बतको जिलोङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन अनुदानमा बनाइदिन सहमत भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । ‘रसुवागढी केरुङ विद्युतीय प्रसारण लाइन चीन सरकारको अनुदानमा निर्माण गर्न सहमति भएको छ,’ स्रोत भन्यो, ‘यस विषयको औपचारिक घोषणा आजै हुने छ ।’

त्यसैगरी संखुवासभाको किमाथांका हुँदै तिब्बतसम्म निर्माण गरिने विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्नेबारे पनि दुई देशबीच सहमति भएको छ ।

आज बिहान ग्रेट हल अफ दि पिपुलमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच द्विपक्षीय भेटवार्ता पछि विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर भएको थियो ।