बागमती प्रदेश अधिवेशनमा चुनाव रोक्ने ओलीको प्रयास, प्यानल बनाए उम्मेदवारी खारेज गर्ने धम्की
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वागमती प्रदेश अधिवेशनमा प्यानलसहित प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन् । यदि प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारको उम्मेदवारी खारेज गरिदिने चेतावनी उनले दिएका छन् ।
सोमबार काठमाडौंको भृकुटीमडपमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस् । प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’
उनले अध्यक्ष मण्डललाई आफूले भनेअनुसार अघि बढ्न निर्देशन दिए । ‘प्यानलमा होइन, व्यक्ति लड्छ । दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौ, बन्द गर्नुस्’, ओलीले भने ।
एमाले लोकतान्त्रिक पार्टी भएको जिकीर गर्दै ओलीले मिल्नु पनि लोकतान्त्रिक अभ्यास भएको तर्क गरे ।
यसअघि लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व चयन पनि सहमतिमा गर्न ओलीले निर्देशन दिएका थिए । उनको निर्देशन पालना भने भएको थिएन ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षका नेताहरु दुई प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण कंडेल विजयी भएका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका थिए ।
बागमती प्रदेश अधिवेशनमा पनि अध्यक्षका आकांक्षीहरू धेरै भएपछि चुनाव हुने सम्भावना रहेको नेताहरू बताउँछन् । अध्यक्ष पदमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठले दाबी गरेका छन् ।
असोज ८–९ गते चल्ने अधिवेशनका लागि एक हजार ३८ जना छानिएका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।
भावी नेतृत्वका लागि पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले अघोषितरुपमा आ–आफ्ना उम्मेदवार मैदानमा पठाउने तयारी गरेका छन् ।
काभ्रेका बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्ने तयारी गरेका छन् । दाहालको समूहबाट उपाध्यक्षमा धादिङका भूमी त्रिपाठी र ललितपुरका नवराज सिलवालमध्ये एकजना उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।
त्यस्तै भक्तपुरका बस्नेतले भने अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई अघि सारेका छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा चितवनका दावादोर्जे लामा चुनाव लड्दैछन् ।
सचिवमा भने दुवैतर्फ अन्योल देखिन्छ । नेकपा एसमा गएर फर्केका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, सिन्धुपाल्चोककै हस्त पण्डितको नाम चर्चामा छ । तर उनीहरुको गुट खुलिसकेको छैन ।
सर्वसम्मत नेताको खोजी भइरहेका बेला चर्चामा नरहेका पूर्वसांसद कृष्णभक्त पोखरेल पनि अध्यक्षको दाैडमा मिसिएका छन् ।