कोशीको मन्त्रिपरिषद विस्तार, एमालेबाट २ मन्त्री र २ राज्यमन्त्री थपिए
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले लिलाबल्लभ अधिकारी र बुद्धिकुमार राजभण्डारीलाई मन्त्री तथा रामप्रसाद मेहता र निरन राईलाई राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजभण्डारीलाई खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्री सबै नेकपा एमालेका हुन् ।
यसअघि कोशी प्रदेश सरकारमा तिल कुमार मेन्याङ्बो स्वास्थ्यमन्त्री स्वास्थ्य मन्त्री, पाचकर्ण राई वन वातावरण तथा पर्यटन मन्त्री, एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्री र सृजना राई सामाजिक विकास राज्यमन्त्री थिए ।
सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उनले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
कोशी प्रदेश सभाको अहिलेसम्मको समीकरण हेर्दा मुख्मन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छैन ।