नेपाल र चीनबीच १२ वटा सहमतिमा हस्ताक्षर

मूलखबर संवाददाता
काठमाडौं, ८ असाेज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच विभिन्न १२ वटा सहमति र सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा दुवै मुलुकका अधिकारीले हस्ताक्षर गरेका छन् ।

विकास पूर्वाधार, कृषि, पर्यटन, विद्युतलगायत विभिन्न परियोजना समेटिएका सम्झौतापत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्- चीनले १६ किलोमिटर प्रशारण लाइन अनुदानमा बनाइदिने

बेइजिङमा कृषि, व्यापार, पूर्वाधार, विज्ञान तथा प्रविधि, डिजिटल अर्थतन्त्रदेखि केही संस्थागत सुधारमा सहकार्य गर्ने विषयमा सहमति भएका छन्।

सन् १९८१ मा भएको चीन-नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरवलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्नका लागि समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ।

दुई पक्षबीच भएका सहमतिहरू यस प्रकार छन्-

  • चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिफर्म कमिशन र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि समझदारीपत्र
  • नेपालको उत्तर पहाडी क्षेत्रका उत्पादन तथा जैविक पदार्थहरूको प्रमाणीकरण
  • डिजिटल अर्थतन्त्रमा सहकार्यका लागि चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिभर्म कमिशन र नेपालको अर्थ मन्त्रालयबीच समझदारी
  • हरित तथा न्यून कार्बन उत्सर्जन हुने विकाससँग सम्बन्धित कार्यमा सहकार्यका लागि चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिभर्म कमिशन र नेपालको वन तथा वातावरण मन्त्रालयबीचको समझदारी
  • कृषि, पशुपालन तथा मत्स्यपालनसम्बन्धी सहकार्यका लागि चीनको कृषि तथा ग्राणीण मामिलासम्बन्धी मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समझदारी
  • सन् १९८१ मा भएको चीन-नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरवलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्न चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी
  • नेपालबाट चीन पठाउन वनस्पतिमा आधारित ओखतीमूलक पदार्थको आपूर्तिसम्बन्धी मापदण्ड र नियम बनाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच सम्झौता
  • चीनको न्याश्नल एड्मिनिस्ट्रेशन अफ प्रेस एन्ड पब्लिकेशन र नेपाल सरकारबीच शास्त्रीय साहित्यको अनुवाद तथा प्रकाशनसम्बन्धी समझदारी
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सम्झौता
  • विपद् सामग्रीसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • जनशक्तिसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • हिल्सा–सिमकोट सडक परियोजना विस्तार गर्ने समझदारीपत्र आदानप्रदान ।