बेइजिङ बिजनेस समिटको सन्देशः नेपाल अबसर भूमि हो, चिनियाँ लगानीलाई स्वागत

मूलखबर संवाददाता
काठमाडौं

आइतबार चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को आयोजनामा ‘नेपाल चीन बिजनेस समिट’ सम्मपन्न भएको छ।

द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले भएको समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए। नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणको लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन्।

प्रचण्डको चीन भ्रमणका क्रममा बेइजिङमा आयोजना गरेको ‘नेपाल चीन बिजनेस समिट’मा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राखेका हुन्।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए।

‘हामीले सम्बन्धित नीति तथा कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाएका छौं’, उनले चिनियाँ लगानीकर्तासामु भने, ‘नेपालमा लगानीको वातावरण राम्रो बनेकाले त्यसबाट फाइदा लिन तपाईंहरुसमक्ष आग्रह गर्छु।’ उनले श्रम कानुन पनि लचिलो र लगानैमैत्री रहेको बताए।

लगानीकर्ताका लागि नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको दाबी दाहालले गरे। उनले पर्यटन, पूर्वाधार, उर्जा, कृषि र औषधिजन्य उत्पादनको क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताए। ‘लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ’, उनले भने।

दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गर्दै दुई देशबीच १३औँ शताब्दीदेखि नै व्यापार सुरु भएको बताएका थिए। समिट नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले आयोजना गरेका हुन्।

उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए। प्रधानमन्त्री प्रचण्डले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए।

उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताए। प्रचण्डले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने उनको जोड थियो।

सीसीपीआइटीको मुख्यालय बेइजिङमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए।

साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए। चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो।

उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए। यसैगरी उनले नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने जोड दिए।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए।

साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्त्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए। ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए।

पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क रिसाेर्टलगायतमा विदेशी लगानीको बडी सम्भावना देखिएको उनले बताए। नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।

विदेशी लगानी सहजीकरणको लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए।

नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउनुहुँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए।

अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए। चिनियाँ बैंक शाखाको रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए।

सीसीपीआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्त्वपूर्ण हुने बताए।

सीसीपीआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास जनाए।

महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरे। नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताए।

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता थियो। नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायी सहभागी भएका थिए ।

समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारी पनि सहभागी भएका थिए । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो।

यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीबीच द्विपक्षीय छलफल समेत भएको थियो। जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणको विषयमा छलफल भयो ।

छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू हेमराज ढकाल एवं ज्योत्स्ना श्रेष्ठ लगायतको सहभागिता थियो।

समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ। यसैगरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ।

महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो।