प्रचण्ड आज बेइजिङमा, नेपाल–चीन बिजनेस समिट, दूतावासको रात्री भोजसम्म
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज आइतबार हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् ।
शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए। एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे।
करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र सीबीच भेट हुनुअघि दुईदेशका अधिकारीबीच उच्चस्तरीय बैठक भएको थियो। उक्त बैठकमा पनि राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागि भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनेछन् । सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट पनि हुँदै छ। द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो ।
प्रचण्डको भ्रमणको अवसर पारेर सीसीपीआइटीको मुख्यालय बेइजिङमा समिट आयोजना हुने महासंघले जनाएको छ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ ।
नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउनेछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्त्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रीसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।
यस्तो छ प्रचण्डको आजको भ्रमण तालिका
– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।
– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।
– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।
– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।