प्रचण्डसामु अमेरिकी विदेशमन्त्रीको प्रतिवद्धताः नेपाललाई नयाँ सहयोग दिन्छौँ

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)का प्रशासक सामन्था पावरले नेपाललाई नयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको साइडलाइनमा बुधबार यूएसएआईडीले न्यूयोर्कमा आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा बोल्दै विदेशमन्त्री ब्लिन्केन र यूएसएआईडीका प्रशासक पावरले उक्त प्रतिबद्धता जनाएका हुन् ।

फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाललगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएको उक्त कार्यक्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र यूएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिएका थिए ।

कार्यक्रममा यूएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रबर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको थियो ।

लोकतान्त्रिक विकासका लागि यूएसएआईडीको साझेदारी कार्यक्रममार्फत यूएसएआईडी/नेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने जनाइएको छ ।

“स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोत लगानी गरिने छ,” यूएसएआईडी/नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भने ।