अमेरिकामा प्रधानमन्त्री प्रचण्डका केही एजेण्डा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्। शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेका हुन्। उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको उपस्थिति थियो।
त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समूदायसंग अपिल गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पोष्ट बहादुर बोगटीको नर्वौ स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तराष्ट्रिय समूदायसंग अपिल गर्ने बताएका थिए।
त्यस्तै जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय मुलुकमा पारेको असरप्रति पनि अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराइने उनले बताए।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीत हित लगाएत भौतिक पूर्वाधार , ऊर्जा क्षेत्र नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका बिषयमा छलफल हुने र केहि बिषयमा सहमति र समझदारी बन्ने जिकिर गरे। आफ्नो भ्रमण राष्ट्रिय हितलाई केन्द्रमा राख्ने गरि नै हुने उनको भनाइ छ ।
त्यस्तै प्रचण्डले आफुले सरकारको नेतृत्व गरिरहदा सुशासन समृद्धि लगाएतमा नयाँ फड्को हान्नका लागि तयारी गरिरहेको पनि बताए।
यसैबीच, माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुको विकल्प नभएको दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘हरहालतमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनुको विकल्प छैन।, ढिला गरियो भने यही कुराले हाम्रो अन्तर्राष्ट्रिय साख नराम्रोसँग गिर्नेछ भन्ने कुरामा हामी सचेत छौं,’ प्रवक्ता सापकोटाले भने।
शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क भ्रमणमा पनि गम्भीर ढंगले कुराकानी गर्ने उनले जानकारी दिए।
‘शान्ति प्रक्रियामा सबैतिर गम्भीर ढंगले कुराकानी गर्दैछौं। यो त राष्ट्रिय समस्या हो नि। यो कुनै पार्टी वा नेता विशेषको कुरा होइन,’ उनले भने, ‘१८ वर्ष लागिसक्दा पनि यो निश्कर्षमा पुर्याउन नसक्दा राष्ट्रिय रुपमा कमजोरीको विषय हो। यसलाई एक नम्बरमा राखेर सबैतिर अन्तरक्रिया भएको छ। सबैभन्दा बढी समय प्रधानमन्त्रीले यसैका लागि खर्च गर्नुभएको छ।’
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन दलहरूसँग सहमतिको प्रयास भइरहेको पनि उनले बताए।
‘यसैका लागि अरु जे जे सहमति गर्नुपर्छ त्यो गरेर, खासगरी सत्तारुढ हाम्रो पार्टी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेकाबीचमा सहमति गर्ने र सबै पार्टीसँग सहमति गर्ने कोशिस भइरहेको छ,’ उनले भने।