एमालेमा गुटबन्दीको औपचारिक विजारोपण, लुम्बिनीमा विष्णु पौडेलसँग शंकर पोखरेल पराजित

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (एमाले) को लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट हुन्। शंकर पोखरेलले समर्थन गरेका अर्का प्रतिस्पर्धीसँग तीव्र प्रतिस्पर्धाबीच कँडेल दुई मतले निर्वाचित भएका हुन्। कँडेलले ४ सय ७९ मत ल्याए भने पोखरेल समर्थित प्रतिस्पर्धी प्युठानका हरि रिजालले २७७ मत ल्याए।

अध्यक्ष केपी शर्मा ओलीले सहमति गर्न दबाब दिए पनि एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा चुनाव भएको थियो। पार्टी नेतृत्वको अनुरोधलाई बेवास्ता गरेर दुवै जना प्रदेशको नेतृत्व लिने गरी होडबाजीमा थिए।

रिजाल साविक राप्ती क्षेत्रका हुन् भने कँडेल साविक लुम्बिनीका । कतिपयले भूगोलको लडाइँले पनि काम गरेको आकलन गरेका छन् । पार्टी केन्द्रीय उपाध्यक्ष बुटवलका विष्णु पौडेल र महासचिव दाङका शंकर पोखरेलले आ–आफ्ना गुटका साथीहरूलाई ढाडस दिएपछि भूगोलका नेताहरू विभाजित भएको थियो। त्यति मात्र होइन, रिजाललाई एमाले केन्द्रीय सदस्यद्वय रुपन्देहीका भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका बलराम अधिकारीले चुनाव लड्न हौस्याएको एमाले उच्च स्रोतले जनाएको छ । गुटबन्दी छैन भनेर नेताहरूले सार्वजनिक अभिव्यक्ति दिए पनि कार्यकर्तास्तरमै गुट झाङ्गिएको देखिन्छ ।

को हुन् अध्यक्ष बनेका कँडेल ?
चुनौतीको घडीमा तदर्थ कमिटीहुँदै प्रदेशको नेतृत्व गरेको र एकपटक अधिवेशनबाट निर्वाचित भएर सेवा गर्ने मौका पाएको राधाकृष्ण कँडेलले प्रतिक्रिया दिए । उनी लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशील छन् । जिल्ला, साविक अञ्चलहुँदै अहिले उनी प्रदेशको नेतृत्वमा छन् ।

पाल्पानिवासी कँडेलको बसोबास अहिले बुटवलमा छ । दुई/दुईपटकका स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याएको र देशकै उत्कृष्ट प्रदेश कमिटीको रूपमा स्थापित गरेको अनुभवले पनि आफू पुनः निर्वाचित हुनुपर्ने उनको दाबी छ । अहिले लुम्बिनीका २७ स्थानीय तहमा एमालेको नेतृत्व, ३९ वटामा उपाध्यक्ष निर्वाचित छन् । ११ जिल्लामा प्रतिनिधिसभा सदस्य, २ जिल्लामा पार्टीको समर्थनमा सांसद र १८ जना सांसद प्रदेशमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश मतका हिसाबले पनि अरु पार्टीभन्दा बलियो बनाएको उनले बताए ।

‘कामको हिसाबले पनि म दोहोरिनुपर्छ भन्ने थियो,’ कँडेलले भने, ‘साथीहरूले बुझ्नुभयो।’ कँडेलले पनि पाल्पाबाट विद्यार्थी जीवनदेखि राजनीति थालेका हुन् । विद्यार्थीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, पार्टीको इलाका सेक्रेटरी, जिल्ला कमिटी सदस्यहुँदै दुई/दुईपटक पार्टीको नेतृत्व गरेको उनमा अनुभव छ । उनी प्रतिनिधिसभाका पूर्वसदस्य पनि हुन् ।

ओलीको अवज्ञा
लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच देखिएको आन्तरिक प्रतिस्पर्धालाई रोक्न चाहेका ओलीले त्यसको जिम्मा भने सचिव पद्मा अर्याललाई दिएका थिए । लुम्बिनीमा ओलीले भनेका पनि थिए, ‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमुना देखाउँछ भनेर प्रदेश अधिवेशनमा पहिले नम्बरमा राखेका हौँ । एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईंहरू एकताबद्ध भएर जानैपर्छ । तपाईंहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’

ओलीले यसो भन्नुको खास अर्थचाहिँ प्रदेशको अभिवेशनमा हरि रिजाल र राधाकृष्ण कँडेलबीच हुने प्रतिस्पर्धाको चिन्ता भन्दा पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको टकरावसँग जोडिएको थियो । एमालेभित्र ओलीपछिको नेतृत्वका लागि पौडेल र पोखरेलले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले देशभर त्यसै अनुसार नेटवर्किङ गरिरहेका छन् । पार्टीका भातृ संगठनदेखि प्रदेश र जिल्ला कमिटीमा पनि उनीहरूको निरन्तर प्रभाव विस्तारित छ । त्यो रफ्तार बुझेरै ओलीले शनिबार थप भनेका पनि थिए, ‘म नभए पनि, विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज पद्मा अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ ।’

हुन पनि एमालेमा लुम्बिनीले देखाउने अभ्यासले अन्य प्रदेशलाई सन्देश संप्रेषित गर्नेछ । लुम्बनीमा अघिल्लो चुनावदेखि नै पौडेल र पोखरेलबीच वर्चश्वको लडाईं थियो । त्यसको प्रभाव चुनावी नतिजामा पनि परेको थियो ।

ओली अहिले नै पौडेल र पोखरेलको समूह पार्टीभित्र निर्माण होस् भन्ने चाहँदैनन् । त्यसमा दुईवटा कारण छन् । एक- आउँदो ११औँ महाधिवेशनमा आफ्नो विकल्पमा अर्को नेता आइहालोस् भन्ने ओली चाहँदैनन् । अर्को चाहिँ पौडेल र पोखेरलबीच प्रतिस्पर्धा हुँदा विगतको झलनाथ खनाल–माधव नेपाल समूहझैँ एमालेमा गुटबन्दी मौलाउने अवसर पाउँछ, जसले ओलीले चाहेजस्तो एक कोषीय पार्टी बन्ने संभवना हुन्न । यस्तो अवस्थामा आउँदो २०८४ को चुनाव पनि प्रभावित हुने डर ओलीमा देखिन्छ । तर त्यो डरलाई लुम्बिनीले झनै बढाइदिएको छ।

संसदीय दलको टिकट वितररणदेखि पालिकाको टिकट वितरणमा समेत पोखरेल र पौडेलको दुश्मनीपूर्ण सम्बन्धको संकेत गरेको थियो । त्योभन्दा पहिला लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा दुई नेताले प्रतिष्ठाको लडाईं बनाएका थिए । त्यसैले, लुम्बिनी एमालेको ओलीभित्र पौडेल र पोखरेलको गुट निर्माणमा प्रस्थानबिन्दु बन्ने संकेत गरेको छ । र पहिलो मोर्चामा विष्णु पौडेलसँग शंकर पोखरेल पराजित हुन पुगेका छन्।