रुग्ण आयोजना निरन्तर अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं, ३ चैत

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ । त्यसका लागि निर्माण व्यबसायीहरुको काममा लगातार अनुगमन गरिरहेको उहाँको भनाइ छ ।

शुक्रबार काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको छ । टोलीमा मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताउनुभयो । ‘निर्माणब्यबसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयहरूको कारण ढिलाई भइरहेको बताउनुभयो । त्यस्तै निर्माण व्यबसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो ।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताउनुभयो ।

गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसैका लागि जनताले रोड ट्याक्स तिर्ने गरेको उहाँले बताउनुभयो । गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । “भैसेपाटी सडकको समस्या अब धेरै रहदैन” उहाले भन्नू भयो “पाइप बिछाउने कार्य पूरा भएको छ। अब एक महिना सडक पिच हुनेछ।”