रविकाे पार्टी रास्वपाले धैर्यता गर्नुपर्छ : माओवादी
सत्ताकाे नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ।
बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने।
उनले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको बताए। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने उनको दाबी छ।
प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णित भएको र बैठक भोलि फेरि बस्ने महराले बताए।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए।