के नेकपा एमाले वामपन्थी हो ?

सिजन केसी
काठमाडौं

कुनै पनि राजनीतिक दलको राजनीतिक र सामाजिक कार्यदिशा जान्नका लागि त्यसका दस्तावेजहरूको गहिरिएर विश्लेषण गर्नुपर्छ । नेकपा एमाले नामले यो कम्युनिष्ट पार्टी हो तर यसको दस्तावेज, व्यवहार र व्यवहारले त्यसो भन्दैन । नेकपा माले क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा स्थापना भएको थियो । सुरुमा यसले क्रान्तिकारी चरित्र पनि देखाएको थियो । झापा आन्दोलन एक किसिमको क्रान्तिकारी आन्दोलन थियो । तर यो बिस्तारै दक्षिणपन्थी संशोधनवादी पार्टीमा परिणत भयो। नेकपा माले पार्टीभित्र राजनीतिक तहमा बहस भैरहेको थियो । कतिपय क्रान्तिकारी नेताहरूले पार्टीको राजनीति कार्यदिशामाथि प्रश्न उठाइरहेका थिए र त्यसलाई सच्याउन माग गरिरहेका थिए । तर यसको मूल नेतृत्व निरन्तर दक्षिणपन्थी र संशोधनवादी बाटो पतन हुँदै गयो ।

२०४७ मा नेकपा-माले र नेकपा-मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्यो। २०४९ मा काठमाडौंमा यसको पाँचौं राष्ट्रिय महाधिवेशन भएको थियो, जसमा महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनबाद नामक आफ्नो राजनीतिक कार्यदिशा प्रस्ताव गरेका थिए । महाधिवेशन ले महासचिवको राजनीतिक कार्यदिशा अनुमोदन गर्यो र जनताको बहुदलीय जनबाद नेकपा एमालेको राजनीतिक लाइन बन्यो । वास्तवमा जनताको बहुदलीय जनबाद मदन भण्डारीको मौलिक रचना होइन, यो नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्तका रूपमा बीपी कोइरालाले अवलम्बन गरेको लोकतान्त्रिक समाजवादको नकल हो । त्यसयता नेकपा एमालेले निरन्तर वामपन्थी कार्यक्रम र गतिविधिहरू त्यागेर पूर्णतया दक्षिणपन्थी बाटो अपनायो/ राष्ट्रवाद र राष्ट्रिय हितका मुद्दाहरूमा पनि यसले साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको आगाडी आत्मसमर्पण गर्‍यो, देसभित्र दक्षिणपन्थी, प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूसँग सहकार्य गर्न थाल्यो। नेकपा-माओवादीले सुरु गरेको जनयुद्धको विरोध गर्न नेकपा एमाले अग्रपंक्तिमा थियो । महाकाली सन्धिमा नेकपा एमालेको प्रमुख भूमिका थियो भने महाकाली सन्धिको वकालतमा पनि नेकपा एमाले अग्रपंक्तिमा थियो ।

भनिन्छ, कोइली र काग को भेद बोलीबाट मात्र थाहा हुन्छ । कोइलीको भेषमा रहेको कागलाई छुट्याउने यो समय हो । मतदाताले वास्तविक वामपन्थी र नक्कली वामपन्थीबीचको भिन्नता छुट्याउन जरुरी छ । र, उनीहरूले वास्तविक वामपन्थीलाई मत दिनुपर्छ र नक्कली वामपन्थीलाई अस्वीकार गर्नुपर्छ ।

शान्ति प्रक्रियाको प्रयास चलिरहेकै बेला केपी ओली र नेकपा (एमाले)मा रहेको उनको समूहले ती प्रयासलाई बिथोल्ने र असफल पार्ने कोसिस गरिरहेका थिए । नेकपा(माओवादी केन्द्र) शान्ति प्रक्रियामा सामेल हुँदा नेकपा (एमाले) विशेषगरी केपी ओली शान्ति प्रक्रियाको चर्को विरोधमा थिए र उनी सैन्य समाधानको पक्षमा थिए । नेकपा (एमाले)को केपी ओली समूहले शान्ति प्रक्रियालाई असफल पार्न दरबारिया र पुरातनपन्थी शक्तिसंग  अघोषित साँठगाँठ गरेको थियो । केपी ओलीले खुलेआम भन्थे– राजतन्त्रको अन्त्य र गणतान्त्रिक व्यवस्थाको स्थापना असम्भव छ र गणतन्त्र प्राप्त गर्न खोज्नु  गोरुगाडामा अमेरिका पुग्न खोज्नुजस्तै हो । केपी ओली र उनको नेकपा (एमाले) पनि सङ्घीयता र नेकपा माओवादीले उठाएका अन्य सबै एजेन्डाको विरुद्धमा थिए । वास्तवमा केपी ओली र नेकपा (एमाले) सबै प्रगतिशील एजेन्डाका विरोधी थिए । नेकपा (एमाले) वामपन्थी र प्रगतिशील शक्ति भएको भए यसले नेकपा(माओवादी) लगायत देशका अन्य प्रगतिशील शक्तिहरूलाई अग्रगामी सुधार र परिवर्तनका लागि सहयोग पु¥याउने थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । मुलुकको बृहत्तर हितका लागि कम्युनिष्ट एकता समयको आवश्यकता थियो । तर, केपी ओली र उनका मतियारहरुले एकताको मर्मअनुसार काम गरेनन् । पार्टी एकताका बेला केपी ओली र प्रचण्ड दुई अध्यक्ष हुने र पालैपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । केपी ओली प्रधानमन्त्री भए तर उनले साढे दुई वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न अस्वीकार गरे । त्यस्तै, उनले पार्टीको निर्णय र निर्देशन पालना गरेनन् र आफू एक मात्र अध्यक्ष भएजस्तो व्यवहार गरे । नेकपासँग दुई तिहाइ बहुमत हुँदाहुँदै पनि ओलीले दुई पटक संसद् विघटन गरेका थिए । तर सर्वोच्च अदालतले ओलीको संसद् विघटनलाई अमान्य ठहर गर्दै संसद् पुनःस्थापना गरेको थियो ।

जब उनका सबै प्रयास हरु असफल भए, अन्ततः उनले अदालत संगको सेटिङमा नेकपा विभाजन गराए। यी सबै केपी ओलीका षडयन्त्रकारी कदम थिए, जसले कम्युनिस्ट र वामपन्थी आन्दोलनलाई ठूलो घाटा पुर्यायो । ओलीका यी कदम हरु जनयुद्ध र जनआन्दोलनबाट प्राप्त प्रगतिशील उपलब्धिहरु लाई उल्टाउने चेस्टा थिए । तर ओलीका यी प्रतिगामी र प्रतिक्रियावादी षडयन्त्रलाई नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डको प्रयासमा विफल पारियो । वाम–लोकतान्त्रिक गठबन्धन बन्यो र केपी ओली नेतृत्वको नेकपा (एमाले) लाई केन्द्र र प्रदेशमा सत्ताबाट बाहिर धकेलियो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वाम–लोकतान्त्रिक गठबन्धनले उल्लेखनीय सफलता हासिल गरेको छ ।

यी सबै गतिविधिले नेकपा (एमाले) वामपन्थी र कम्युनिष्ट पार्टी होइन भन्ने प्रमाणित गर्छ । बरु यो दक्षिणपन्थी र संशोधनवादी पार्टीमा परिणत भएको छ । अहिले पनि नेकपा एमाले यथास्थिति र राजनीतिक प्रतिगमन चाहन्छ । अब संघीय संसद् र प्रदेश सभाको निर्वाचन नजिकिंदै छ । जनताले प्रगतिशील पार्टी रोज्नुपर्छ र प्रतिगामी र दक्षिणपन्थी तत्वलाई अस्वीकार गर्नुपर्छ । भनिन्छ, कोइली र काग को भेद बोलीबाट मात्र थाहा हुन्छ । कोइलीको भेषमा रहेको कागलाई छुट्याउने यो समय हो । मतदाताले वास्तविक वामपन्थी र नक्कली वामपन्थीबीचको भिन्नता छुट्याउन जरुरी छ । र, उनीहरूले वास्तविक वामपन्थीलाई मत दिनुपर्छ र नक्कली वामपन्थीलाई अस्वीकार गर्नुपर्छ । नेकपा (एमाले) नक्कली वामपन्थी हो भने नेकपा (माओवादी केन्द्र) वास्तविक वामपन्थी र कम्युनिष्ट पार्टी हो । नेकपा (माओवादी केन्द्र) मात्र प्रगतिशील परिबर्तन को सम्बाहक हो ।  त्यसैले मतदाताले नेकपा(माओवादी केन्द्र)का उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउनु पर्छ भने नेकपा (एमाले) जस्तो नक्कली वामपन्थीहरुलाइ अस्वीकार गर्नुपर्छ ।