फण्ड बाेर्ड २६ वर्षमा प्रवेश : ७६ जिल्लाका २५ लाख ६० हजारमा खानेपानी सुविधा, उल्लेख्य प्रगति

मूलखबर संवाददाता
काठमाडौं

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको छ । २०५२ सालमा स्थापना भएकाे यश समितिले २५ वर्ष पूरा गर्दा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ ।

फण्ड बाेर्डले हालसम्म  ३ हजार २३७ आयोजनाहरू सम्पन्न गरी २५ लाख ५९ हजार जनसंख्यालाई स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको छ ।

कोष विकास समिति स्थापनाको पच्चीसौं वर्ष पूरा गरेको उपलक्ष्यमा विज्ञप्ती जारी गरी संस्थाले विश्व बैंक र नेपाल सरकारको आर्थिक सहयोग एवं समुदायको सक्रिय सहभागितामा मुस्ताङ जिल्ला वाहेक देशका ७६ वटा जिल्लाका ग्रामीण क्षेत्रहरूमा खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको जानकारी गराएको हो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) नेपालको ग्रामीण समुदायका वासिन्दालाई खानेपानी र सरसफाइको दिगो र भरपर्दो सुविधा उपलब्ध गराउने ध्येय सहित २०५२ साल चैत्र १ गते विकास समिति ऐन २०१३ अन्तर्गत स्थापना भएको हो । कोष विकास समितिले समुदायका महिला तथा सीमान्तकृत वर्ग लगायत सम्पूर्ण उपभोक्ताहरूलाई खानेपानी आयोजनाका सम्पूर्ण चरणमा आबद्ध गराई,समुदायले नै आयोजना निर्माण सम्बन्धी सामग्री खरीद गर्ने परिपाटी अपनाई, उनीहरूले नै निर्माण गरेको कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

समितिले आयोजनाका प्रत्येक गतिविधिहरूलाई पारदर्शी बनाई सुशासन कायम गर्न सामाजिक जवाफदेहिता (जागरण) कार्यक्रम,आयोजनासँग सम्बन्धित सवालमा आउन सक्ने गुनासो सम्बोधनका लागि गुनासो निदान कार्यक्रम, समुदायका महिलाहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि सञ्चालन गरिएको जीविका कार्यक्रम तथा समुदायका सबै तप्का र वर्गको समान प्रतिनिधित्वका लागि महिला तथा गरीबी संवेदनशील अवधारणालाई कार्यक्रमको मूलप्रवाहीकरणमा समेटेको छ ।

सबै आयोजनाहरुमा खानेपानी सुरक्षा योजना

नेपाल सरकारको नीति अनुरूप कोष विकास समितिले कार्यक्रम सञ्चालनको दशौं चरणदेखि “एक घर, एक धारा र एक चर्पी” को अवधारणा बमोजिम आयोजनाहरू कार्यान्वयन गर्दै आएको छ । यसका साथै यस संस्थाले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुरूप खानेपानी गुणस्तर मापदण्डको परिपालना गर्दै आएको छ । खानेपानीको गुणस्तर र संरचनाको दिगोपनको प्रत्याभूतिका लागि सबै आयोजनाहरुमा खानेपानी सुरक्षा योजना समेत लागू गरिएको छ ।

कोष विकास समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षतिग्रस्त भएका ४०४ खानेपानी आयोजनाहरूको पुन:स्थापना र पुन: निर्माण कार्य सम्पन्न गरिसकेको छ भने थप नयाँ १६० आयोजनाहरू सम्पन्नताको चरणमा पुगेका छन् ।आयोजनाको दिगोपनलाई उच्च महत्व दिँदै आएको यस संस्थाले सम्पन्न भइसकेका ४३८ खानेपानी आयोजनाहरुका उपभोक्ता समिति तथा समूहहरुको कार्यक्षमता अभिवृद्धि गर्ने र आयोजनाको दिगोपनमा सुधार ल्याउने उद्देश्य सहित कार्य अघि बढाएको छ । यस अन्तर्गत आवश्यकता अनुसार आयोजनाहरूको मर्मत सम्भार कार्यहरु भइरहेका छन् ।

खुला दिसामुक्त घोषणा गर्न कोष विकास समितिको उल्लेख्य योगदान

देशलाई खुला दिसामुक्त बनाउनका लागि लिइएको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि कोष विकास समितिले नीति निर्माण र कार्यक्रम कार्यान्वयनका तहमा पुर्‍याएको योगदान अर्को उल्लेखनीय पाटो हो । संस्थाको पहलमा साबिकका ३९३ गाविस तथा नगरपालिकाका वडाहरूमा खुला दिसामुक्त कार्यक्रम सञ्चालन गरी यी मध्येका २६३ साबिकका गाविस तथा नगरपालिकाका वडाहरूमा खुला दिसामुक्त पछिको पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

यस क्रममा कोष विकास समितिलेखुला दिसामुक्त घोषणा पश्चात् पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहबाट माग भई आएका मध्ये ८० स्थानमा सार्वजनिक शौचालय निर्माण गर्नका लागि यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कार्य अघि बढाएको कोष विकास समितिले जनाएको छ ।

कोभिड – १९ प्रतिकार्यका लागि ५३ वटा हात धुने ठाउँ जडान

गत वर्षदेखि विश्वव्यापी महामारीका रूपमा देखा परेको कोभिड – १९ बाट हुने सङ्क्रमण न्यूनीकरणका लागि कोष विकास समितिले विभिन्न सचेतनामूलक सामग्री उत्पादन गरी आयोजना क्षेत्रमा वितरण गरी सचेतना जागरण गर्ने कामलाई उच्च महत्त्व दिएको छ भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, गोरखा तथा नुवाकोट जिल्लाका वडा कार्यालय, स्वास्थ्य चौकी, क्रियापुत्री भवन तथा सार्वजनिक स्थलहरु जस्ता धेरै मानिसहरूको भीडभाड हुने ठाउँहरूमा खुट्टाको प्रयोगबाट सञ्चालन गरिने ५३ वटा हात धुने ठाउँ (Hand Washing Station) जडान गर्ने काम सम्पन्न भएको छ । यस्तो सुविधा प्रदान गर्दा आवश्यकता र दिगोपनालाई ध्यान दिइएको कोष विकास समितिले जनाएको छ ।

यस महामारीबाट कर्मचारी,खानेपानी आयोजनामा काम गर्ने कामदार तथा उपभोक्ताहरुलाई सुरक्षित राख्न यस संस्थाले विश्व स्वास्थ्य संगठन एवं नेपाल सरकारको नीति बमोजिम आवश्यक सुरक्षात्मक पहलहरु अपनाएको छ ।

कोष विकास समिति स्थापनाको २५औं बार्षिकोत्सवको अवसरमा समितिले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथि खानेपानीमन्त्री मणिचन्द्र थापा र कार्यक्रमको अध्यक्षता कोष विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सहसचिव सुनिलकुमार दासले गर्नुहुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धितालले कोष विकास समितिको संक्षिप्त प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम छ भने जिविका कार्यक्रम तथा खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धी जिविका समूह एवं उपभोक्ता समूहको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । -वास खबरकाे सहयाेगमा