कालको मुख च्यातेर निस्केको दिन
राजु क्षेत्री – २०६१ कार्तिक २९, गजुरी ब्यारेक ।
त्रिशुली किनार छुँदै आएको चिसो सिरेटोको झोक्काले ब्युँझायो । अाँखामा बाधेको पट्टी अलिकति माथि सारेर झ्यालबाट बाहिर हेरे- धर्तीमा बिस्तारै मिर्मिरे उज्यालो झर्दै थियो । हामीलाई बन्दी बनाएर राखिएको घरभन्दा तल नदी सधै झै एकनासले सुसाइरहेको छ । हाम्रो सामुन्नेको चौरतिर सेनाका जवानहरुको कल्याङमल्याङ सुनिन्छ ।
आज भाइटिकाको दिन ।
हामी यसरी नै हात- खुट्टा बाँधिएर – अाँखामा पट्टीले ढाकिएर बसेको पुरा १३ महिना पुगेको दिन आज। २०६० कार्तिक १ गते सेनाले समातेदेखि आजसम्म पट्टी खोलेर राम्रोसंग बाहिरको उज्यालो हेर्न पाएको छैनौ।
चराहरुको चिर्बिर सुनिन थाल्छ । बिस्तारै उज्यालो हुन थाल्यो । त्रिशुली पारी छेउका पाखामा लागेको घाम सर्दै हामीलाई राखिएको ठाउँसम्म आयो । रातभर चिसोमा लडेको जीउले घामको किरणको तातो अनुभुति गर्न पायो । हुन त यसरी नै बितेर गैसकेका थिए पुरै १३ महिना । अब त यस्ता दिनहरु सामान्य हुन थालिसकेका छन ।
बन्दी हौ– बिहान उठेर मुख धुने कुरा भएन । एकपटक उठेपछि बाहिर शौचालय जान अनुमति पाइन्छ त्यसउता चार दिवारभित्र बन्दी ।
न ब्रस गर्नु न नुहाउनु । न कपाल काट्नु न नङ्ग फाल्नु । डिउटी मा बस्ने सिपाहिले भनेका — हामी त बन मान्छे जस्ता देखिन्छौ रे । ऐना हेर्न पाएको छैनौं कस्तो छौ कस्तो ! भित्रै बसेको भएर होला छाला चाहि एकदम सेतो भएको थियो सबैको ।
हामीलाई राखेको ठाउँमा ३ जना सिपाहीको बस्ने- सुत्ने कोठा छ । कहिलेकाँही चिया दिन्छन । अनि, यस्तो चाडबाडका दिन नुन- पिरो मिलाएको, तेल- मसला हालेको खाना खान पाइएला भन्ने आशा हुन्छ । सिपाही आएर ढोका खोल्लान र चिया देलान भनेर पर्खदा पनि रमाइलै हुन्छ , बिहान गएको पत्तै हुदैन ।
बिहानको ९ बज्छ । १० बज्छ । सिपाहीहरुको भान्सामा भाँडा बज्छन ।अनि बिस्तारै भाँडा बज्न छोड्छ र अब हाम्रो पालो आएको कुराले मनमा आनन्द आऊँछ । यसरी ढोका खुलेको आवाज कुर्दा- कुर्दै कति दिन त साँझ पर्थ्यो तर खाना आउदैनथ्यो । अनि डिउटीको सिपाहीले भन्थ्यो– ´तिमिहरुको बाउ- आमा मरे रे , त्यही भएर एकछाके बारेको आज ।`
उनीहरुको कुराले मनमा भक्कानो छुट्छ तर परचक्रीका सामु रुनु भएन । भोकले ख्याउटिएको अनुहार लिएर तैपनि हामी हाँसिरहन्थेउ । सिपाहीहरु भन्थे — कति ढुक्कका मान्छे होलान् यिनिहरु, शोक- चिन्ता केहि कुराको पनि छैन ।
११ बजिसकेको थियो , डिउटीको सिपाही आएर भन्यो – आज त पेटभरि मासुभात खान पाउने भयौं ।
मासु- भात भनेपछि मुख मिठ्याएर बसेउ सबैजना । धेरै ढिलो गरेर सिपाहीले ढोका खोल्यो र भन्यो — ´केटा हो, , अहिले यस्तै भयो बेलुका राम्रोसंग खान दिउला है ।`
सिपाहीले थालमा हालेको भात छामेर हेरेको चार गास बढी भात छैन । दाल त सधैकै जस्तै टर्लङे पानी । कैयौं दिनदेखी पेट भरेर खान पाइएको छैन । चाडका दिन त पेटभरि खान पाइएला भनेको ! तर आज पनि उस्तै । आँखाबाट आँसु पो झरेछन । एउटा सिपाहीले भन्यो – ´ल नरो- नरो , बेलुका पेटभरि खालास ।` बिचरा ति सिपाहिलाइ के थाहा कि १ बर्षदेखि पेटभरि खान नपाएको मान्छेको मन चाडको दिन पनि पेटभरी खान नपाउँदा कस्तो हुन्छ भनेर ।
बिहानको खाना खायौं । अल्छि मान्दै- मान्दै दिन ढल्यो र बेलुकाको खाना खाने वेला आयो । बेलुका पनि उस्तै । भर्खर दिन ढलेको थियो , सिपाहीले खाना ल्याएर ढोका बाहिर छोडेर गयो । डिउटीको सिपाहीले ढोका खोलेर खाना थालमा हालिदियो र कपाकप खायौं । खाना खाँदा हातको हत्कडि खोलिएको मौका छोपेर पुर्ब योजना बमोजिम डिउटीमा बसेको सिपाही घाँटी अठयाँयौ र उसको हतियार खोस्याैं । अनि हामिले उसको हातबाट चाबी खोसेर हाम्रा हात-खुट्टामा लाएका जन्जिर खोलेउ र आफैलाइ मुक्त पार्याैं । त्यसपछि हतियार भन्डारमा गएर त्यहाँ रहेका सबै हतियार झिकेर त्यो सिपाहीलाइ अगाडि लगाएर ब्यारेकको चोरबाटो हुँदै बाहिर निस्कियाैं ।…
………………………
त्यो बिस्मयकारी साँझ बितेर गएको आज १६ बर्ष भएछ र पनि सधै ताजा लागिरहन्छ । त्यो साझँ कतै मरि पो हालिन्छ कि भन्ने त मनमै नआएको रहेछ । कसरी बाहिर निस्कने र जनयुद्धका क.प्रचण्डको नेतृत्वमा कसरी नयाँ इतिहास रच्ने भन्ने मात्र मनमा रहेछ ।
हरेक बर्षको कार्तिक मसान्तका दिन, महिनौपछि फुत्केर हिडेको उहि नयाँ दिन जस्तो अनुभुति भैरहन्छ ।
ब्यारेक ब्रेक गरेर निस्केका साथीहरू मध्ये क. बिप्लबलाई पछि २०६१ मा सेनाले समाएर ढुङ्गाले किचिकिची लेखनाथमा मारे । अर्का साथी सेवक जि पछि के कुरामा हो आफ्नै साथिहरु जनमुक्ति सेनाबाट ढाड भाँचिने गरि जनमुक्ति सेनाको ब्यारेकभित्रै पिटाइ खानु भएछ र अहिले अपाँङ्ग जस्तो अबस्थामा अरबतिर भेडा चराँउदै हुनुहुन्छ रे । ठाकुरसिंह दाइ धादिङको नागिधारतिर हलिगोठालो गर्दै जिबन चलाउनु भएको छ रे । देबि ढकालका दम्पति जनमुक्ति सेनामा अयोग्यमा परेपछि चितवनमा चटपटे- सटपटेको सानो टंकी राखेर बस्नु भएको छ । बिगुलजि चितवनमै थोरै कुखुरा पालेर बस्नु भएको छ । प्रकाशजि गाइ पालेर बस्नु हुन्छ त्यतै । म आफ्नै गाउँमा चिया पसल थापेर बसेको छु ।
ब्यारेक ब्रेकर साथीहरूसंग भेट हुन्छ बेलाबेलामा । अस्ति बिगुलजिले फोन गर्नु भएको थियो – हामी सबैको त सानो भए पनि बस्ने घरसम्म छ यो नसे ( देबि ढकाल ) को मुन्टो लुकाउने ठाउँसम्म पनि छैन । एउटा सानो जग्गामा घर बनाइदिउँ भनेर जग हाल्न लाएको । मैले बिगुलजिलाइ भने- तपाईहरु काम गर्दै गर्नोस म ५० हजार पठाइदिन्छु । सिन्धुपाल्चोकको लेकबाट उहिल्यै २०५५-५६ तिरै जनयुद्ध लड्न भनेर घरबाट निस्केको मेरो मित्रको आजसम्म मुन्टो लुकाउने ठाउँ छैन । जनमुक्ति सेनामा हुँदा बुढाबुढीले पाएको थोरै पैसाले चितवनमा घडेरी किनेका रहेछन र अहिले मित्र बिगुलको पहलमा सानो बुकुरो बन्दैछ ।
………………………… …………
जिन्दगी जस्तो छ त्यस्तैमा रमाइलो छ । बडो दु:ख भोगेर आइयो । हुन त अहिले पनि दुखै छ जिन्दगी तर कतै नचिनेको मान्छेलाई अर्को साथिले चिनाउदा- ´ब्यारेक ब्रेकर` भनेर चिनाउदा गर्ब लाग्छ । अहिले जहाँ छौ हामि, यत्तिमै सकिदैन क्रान्ति । गर्ब लाग्छ सधै न्याय- समानता र स्वतन्त्रताको सिपाही हुन पाएकोमा ।