
श्रीलंकाका राष्ट्रपति भारतमा : पहिलो विदेश भ्रमणमा के गर्दैछन ?
श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे बिहीवार भारत आइपुगेका छन् । राष्ट्रपतिका रूपमा उनको यो पहिलो विदेश यात्रा हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आइपुगेका हुन् ।
उनीसँग राजपाक्षेका सचिव पीबी जयसुन्दर र प्रधानमन्त्री महिन्दा राजपाक्षेका सल्लाहकार ललित वीरतुंगा पनि दिल्ली आइपुगेका छन् । दुईदिने भ्रमणका क्रममा श्रीलंकाका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग रणनीतिक द्विपक्षीय सम्बन्धका बारेमा विशेष वार्ता गर्ने जानकारी दिइएको छ ।
७० वर्षीय राजपाक्षे १७ नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएका थिए । पूर्वरक्षासचिव गोताबायाले श्रीलंकामा लामो समयदेखि चल्दै आएको गृहयुद्ध टुंग्याएका थिए । उनी श्रीलंकाका सातौं राष्ट्रपति हुन् ।
गोताबाया राष्ट्रपतिमा विजयी भएको भोलिपल्टै भारतीय विदेशमन्त्री एस जयशंकर कोलम्बो पुगेका थिए । उनले नै मोदीको शुभकामना सन्देशका साथै भारत यात्रा गर्न निमन्त्रण गरेका थिए । –एजेन्सी
