बेडमै सक्रिय प्रधानमन्त्री : डाक्टर भन्छन् -यस्तो अात्मबल भएको बिरामी काेही हुँदैन

मूलखबर संवाददाता
काठमाडौं, १३ मंसिर

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै सक्रियता देखाएका छन्।

प्रधानमन्त्री ओली बिहीबार बिहानैदेखि हिँड्न थालेका छन् भने उनले जाउलो र दालसमेत खाएका छन्।

आजै उनले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने सबैलाई धन्यवाद भनेका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेको तेस्रो दिनमै प्रधानमन्त्री ओली आफैंले आफ्नो ट्वीटर ह्याण्डल चलाएका थिए।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। दिउँसो प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल सार्नेबारे समेत छलफल भएको थियो। यद्यपी चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै राख्ने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको सक्रियता र आत्मबल देखेर उपचारमा संलग्न चिकित्ससमेत चकित परेका छन्।

‘प्रधानमन्त्रीज्यू बुधबार बोल्न थाल्नुभएको हो। तर बुधबार नै उहाँ बेडबाट उठेर एकैचोटि ऐया ऐया… भन्दै सोफामा बस्नुभयो,’ एक चिकित्सकले भने,’हामी त उहाँको आत्मबल देखेर चकित भएका छौं। यति धेरै आत्मबल भएको बिरामी त मैले अहिलेसम्म देखेकै थिइनँ।’

प्रधानमन्त्री ओली चिकित्सकहरूसँग हाँसो ठट्टा गर्नेसमेत गर्छन्। चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको प्रेसरमा समस्या छैन भने ज्वरो पनि आएको छैन।

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै काठमाडौंका सडकको खाल्डाखुल्डीबारे चासो लिएका खबर सेताेपाटिमा छ ।