नेपाल भ्रमण वर्ष २०२० को स्टिकर साधनमा टाँस्न ट्राफिकको आग्रह
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गर्नुभयो । उहाँले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्तसम्हारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका संचालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराउनु भयो ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो ।
महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्नेतर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । तर त्यसका लागि सरकारले सडकको उचित व्यवस्थापन गनुपर्ने उहाँको भनाई छ । सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताउनु भयो ।
महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधनको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ ।