नौबीसेको जाममा फसेर एक बीरामीको मृत्यु, कसरी हटाउने जाम ?

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

नौबीसेको जाममा फसेर एक जनाको मृत्यु भएको छ । उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित पृथ्वीराजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । हुलाकीडाँडा सिम्लेभन्दा तल र महादेवबेँसीभन्दा माथि पर्छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए ।एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि साहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । साहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।

सडक मर्मत र ठूला सवारीसाधनका कारण यो सडक खण्डमा झण्डै ३० किलोमिटर लामो जाम छ । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।

‘काठमाडौंबाट बाहिरिन अरूबेलाजस्तै सहज छ, कुनै जाम छैन,’ नागढुंगास्थित प्रहरी कार्यालयका ट्राफिक प्रहरी सई विदुरमणि भट्टराईले भने, ‘एकतर्फी जाम हो। काठमाडौं भित्रन समस्या छ।’

भट्टराईले भने, ‘काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी छन्। सय गाडीमध्ये ९५ वटा ट्रक भेटिन्छ। उकालोमा लोड भएका गाडी फस्ने, गियर जानेजस्ता समस्याहरू देखिँदा लामो समय जाम हुने गरेको हो।’

नौबिसेदेखि नागढुंगातर्फ ६ किलोमिटर सडक क्षेत्रमा छरसात घन्टासम्म जाम हुने गरेको छ। यहाँ सवारी साधन रोकिँदा जाम बढेर सवारीसाधनको लाइन धादिङ धार्केबजारसम्म पुग्ने गरेको छ। यो सडक क्षेत्रमा दशैंको मुखमा सडक टालटुल गरिँदा पनि जाम बढेको हो।

‘सडक टालटुल गरेका थिए त्यही पनि उप्किसक्यो,’ उनले भने, ‘कालोपत्रे लोड गाडीले उत्निखेरै उप्काइ दिने रहेछ। पानी परिरहेको छ, कालोपत्रे उप्केर खाल्डाखुल्डी भइसक्यो।’

उनले तत्काल जाम खुलाउन सक्ने अवस्था नदेखिए पनि समस्या समाधानका लागि कोसिस गरिराखिएको बताए। सामान बोकेका ट्रकलाई रोकेर यात्रुलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताए। ‘ट्रकलाई निश्चित समय दिएर त्यो बेला मात्रै चल्न दिनुपर्छ,’ उनले भने, ‘यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्‍यो।’