कालोबजारी नियन्त्रण हुन नसकेको प्रधानमन्त्री ओलीको स्वीकार

काठमाडौं , २० चैत ।pm-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कालो बजारी रोक्न नसकेको स्वीकार गरेका छन् । शनिबार नेविसंघ, तरुण दल र महिलासंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सहज आपूर्ति हुँदा पनि कालोबजारी नियन्त्रण हुन नसकेको स्वीकार गरेका हुन् ।

“राज्य संयन्त्रले प्रभावकारी काम गर्न नसक्दा कालोबजारी नियन्त्रण हुन सकेन” ओलीले भने, “सम्बन्धिन व्यक्तिहरुलाई बोलाएर छलफल गर्छु । म आफैं पनि चिन्तित छु ।” उनले इन्धन आपूर्ति सहज भएको अवस्थामा पनि पेट्रोलपम्पहरुमा ‘पे्रट्रोल छैन’ भनेर टाँसिएकोप्रति आपत्ति जनाउँदै यसमा छानविन गर्ने बताए ।

आफ्नो चाहना अनुरुप पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै उनले आवश्यक जनशक्तिको अभावमा पनि अपेक्षित काम हुन नसकेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकार सदनलाई छलेर अध्यादेश ल्याउने पक्षमा नरहेको बताए । प्रमुख प्रतिपक्षि कांग्रेससँग यसबारे छलफल गर्ने उनले जानकारी दिए । यसबारे शुक्रबार कांगे्रस सभापति शेरबहादुर देउवासँग छलफल भएको उनले बताए । छलफल र सहमतिबाटै अघि बढ्ने उनले विश्वास दिलाए ।

कालो बजारी रोक्न माग गर्दै शनिबार नेविसंघ, तरुण दल र महिला संघले प्रधामन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।