यातायात बन्द : देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।
समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण सोमाबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।
काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि सार्वजनिक यातायात चलेका छैनन, निजी सवारी साधन भने सञ्चालनमा छन्।
यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्।
राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गरेका छन्। तर, सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राख्न थालेका हुन्।
समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको थियो।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई पनि भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै केही दिनअघिदेखि व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गर्दै आएका थिए।
आफ्ना मागप्रति वेवास्ता गरिएको भन्दै उनीहरुले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन्।
यातायात व्यवसायीले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरेर सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्।





