माओवादी केन्द्रले संसदमा थप सशक्त प्रतिवाद गर्ने

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ

प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा अझै प्रभावकारी प्रस्तुति गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रकाे आज बसेकाे संसदीय दलको बैठकले संसदमा सरकारले गरेकाे बेथिति र भ्रष्टाचारको विरूद्वमा अझै सशक्त प्रतिवाद र भण्डाफाेर गर्ने निर्णय गरेको हाे ।

आज १२ बजे सिंहदरबारमा बसेकाे दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रम, राजावादीको आन्दोलन, पार्टीको मध्य पहाडी लाेकमार्गकाे अभियान र आगामी दिनमा खेल्नुपर्ने भुमिकाबारे सांसदहरूलाई निर्देशन गरेका थिए ।

बैठकले  संसदमा प्रभावकारी भुमिका खेल्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । प्रतिनिधिसभामा गृहमन्त्रीको राजिनामा नआएसम्म अवराेध जारी राख्ने र राष्ट्रिय सभामा माग राख्ने तर अवराेध नगर्ने नीति माओवादीले लिएको छ ।

संसदमा माओवादीलगायत प्रतिपक्षी दलहरुले भिजिट भिषा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसद अवरुद्ध गरिरहेका छन् ।

माओवादी केन्द्रले बजेट ल्याउन दिने लचिलो नीति ल्याए अनुसार जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउन दिएको थियो । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल भएको छ । साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको  छ ।