नेकपाद्वारा मिडिया हाउसमा प्रहरी हस्तक्षेपप्रति कडा आपत्ति

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारहरूमाथि शृंखलाबद्ध धरपकड, त्रास र दमन सुरु गरेको भन्दै सरकारको असंवैधानिक तथा अलोकतान्त्रिक रवैयाको घोर निन्दा एवं भर्त्सना गरेको छ।

​पार्टीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय मिडियाका गेट अगाडि गरिएको पार्किङ आतंकदेखि जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीसम्मका घटनाक्रमलाई प्रेसमाथिको सुनियोजित आक्रमणका रूपमा व्याख्या गरिएको छ।

​त्यसै क्रममा नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यकक्ष (न्युजरुम) बाटै पक्राउ गरिएको, नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरीले प्रवेश गरी आतंक सिर्जना गरेको तथा दियोपोस्टका सम्पादक सुदीप विश्वकर्मामाथि धरपकडको प्रयास भएको घटनाहरूप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

​सरकार संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकमै प्रहार गर्न शृंखलाबद्ध रूपमा उत्रिएको ठहर गर्दै नेकपाले यस्ता निरंकुश कदम तत्काल बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेको छ।